७ कार्तिक २०८३, शनिबार

भूकम्पपछि नुवाकोटका कुन-कुन बस्ती बस्न अयोग्य ? यस्तो छ सरकारी रिपोर्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nuwakot-earthquake

त्रिशूली(नुवाकोट), १९ असार । भूकम्पको कारण जोखिममा परेको बस्तीलाई स्थानान्तरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयमा विवरण पठाएको छ ।

समितिको शुक्रबारको बैठकले गत वैशाख १२ को भूकम्प र भूकम्पका कारण बर्खामा जोखिम बढेको देखिएको बस्तीका दुई हजार पाँच सय घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मन्त्रालयमा सिफारिस गरेको हो । समितिको बैठकले भूकम्प र वर्षात्का कारण पहिरो जाने खतरा बढेकाले दुई हजार चार सय ८९ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको प्रजिअ उमेशकुमार ढकालले बताउनुभयो ।

समितिले तीन वटै निर्वाचन क्षेत्रका ५० भन्दा बढी घर एकै स्थानमा रहेका १४ गाउँसहित क्षेत्र नं १ मा सात सय ७७, क्षेत्र नं २ मा एक हजार एक सय ६७ र क्षेत्र नं ३ मा पाँच सय ४५ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयमा विवरण पठाएको हो ।

अहिलेको बर्खालाई ध्यानमा राखेर स्थानान्तरणका लागि आग्रह गर्दै मन्त्रालयमा विवरण पठाइएको प्रजिअ ढकालले बताउनुभयो । “अहिले स्थानान्तरण गरिने सबै परिवारलाई तीन महिनापछि वर्षात् सकिएपछि पहिलेकै स्थानमा फर्काइनेछ” प्रजिअ ढकालले भन्नुभयो “पहिलेकै स्थानमा फर्काउन नमिल्ने भएमा सरकारको निर्देशनअनुसार अन्य विकल्प खोजिनेछ ।”

मन्त्रालयबाट स्वीकृति आएपछि स्थानान्तरण गर्नुपर्ने बस्तीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस तथा सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गरिने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

समितिले स्थानान्तरण गर्नुपर्ने ठहर गर्दै मन्त्रालयमा पठाएकामा क्षेत्र नं १ का दुई पीपल, चाउथे, तलाखु, लिखु, कुमरी, थानापति, जिलिङ, ककनी, बेलकोट, सूर्यमती, छाप, मदानपुर, समुद्रादेवी, थानसिं, महाकाली, चतुराले र ओखरपौवा गाविसका सात सय ७७ घर छन् ।

यस्तै क्षेत्र नं २ का घ्याङफेदी, शिखरबेंसी, उर्लेनी, गाउँखर्क, बालकुमारी, थप्रेक, नर्जा, गेर्खु, बागेश्वरी, बेतिनी, राउतबेंसी, सुन्दरादेवी, रालुकादेवी, समुद्रटार, कविलास, हल्देकालिका, भदु्रटार र गणेशस्थान गाविसका विभिन्न गाउँका एक हजार एक सय ६७ घरका मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने रहेको छ । यस्तै क्षेत्र नं ३ का फिकुरी, दाङसिं, बुधसिं, देउराली, कल्याणपुर, किम्ताङ, मनकामना, भाल्चे, बुङ्ताङ, साल्मे, चारघरे, तुप्चे र काहुले गाविसका पाँच सय ४५ घर स्थानान्तरण गर्नुपर्ने समितिको भनाइ छ ।

स्थानीयवासीको निवेदन, भूगर्भविद्सहितको टोलीले स्थलगत अनुगमनबाट आएको प्रतिवेदनका आधारमा स्थानान्तरण गर्नुपर्ने घरको विवरण पठाइएको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले बताउनुभयो । केसीका अनुसार स्थानान्तरणका लागि सम्बन्धित गाविसमा विकल्प खोज्ने र सम्बन्धित गाविसमा स्थान नभए मात्र अन्यत्र स्थान चयन गरी सारिने समितिले योजना बनाएको छ ।

समितिले स्थानान्तरण गर्नुपर्ने दुई पीपल–८ केउरेनीमा एक प्राविसहित एक सय २० घरधुरी, चाउथे – ३ पात्ले खोलाका ५१ घर, तलाखु – ६ देवीस्थानका एक सय घर, छाप – ९ सिन्छुच्चे र पारागाउँका ५५ घर, सूर्यमती–१, २, ३, ५, ८ र ९ का दलित बस्ती र चतुराले – नं. १, ४, ५, ७ र ९ का लामिछाने, सिरुबारी र बलामी गाउँका ५१ घर छन् ।
यस्तै उर्लेनी – १ र २ का एक सय परिवार, घ्याङ्फेदी –३ नेगीखोलाका ५५ घर, वडा नं ४ का ५० घर, वडा नं ८का ५३ घर, गाउँखर्क – ७ का ८० घर, गेर्खु – ६ का ५० घर, राउतबेंसी – ३ कामीडाँडाका ८० घर, वडा नं ७ घ्याङडाँडाका ६० घर र भद्रुटार – १, ३, ५ र ८ नेवारपानीका ८४ घर पनि स्थानान्तरणको सूचीमा छन् ।

यस्तै फिकुरी – १, ८ र ९ मा रहेको च्यानेस्वारा र गोगनेका ९७ घर तथा साल्मे पूरै गाविसका सबै घर पहिरो र ढुङ्गा खस्ने समस्याले स्थानान्तरण गर्नुपर्ने अवस्था आएको स्थानीय विकास अधिकारी केसीले बताउनुभयो । भूकम्पका कारण जमीन चिरा परेको, बस्ती वरपर पहिरो जान थालेको, बस्तीकोे माथि रहेको पाखाका ढुङ्गा चर्किएको लगायत कारणले बर्खामा जोखिम हुन सक्ने भएको बस्ती सारिनुपर्ने निर्णय भएको समितिले जनाएको छ । रासस