– भोलाराज पौडेल
नुवाकोट, १९ असार । मानवीय सेवामा समर्पित रेडक्रस नुवाकोटमा भने विवादित भएको छ । नेपाल रेडक्रससोसाइटी नुवाकोट शाखाका कार्यक्रमहरु विवादित र एकलौटी हुँदा सर्वसाधारणले रेडक्रसको विश्वसनीयतामाथि नै प्रश्न उठाउन थालेका छन् ।
विनाशकारी भुकम्पपछि मानवीय सेवाको तुलनामा आर्थिक हिनामिना र अनियमितता गरेको आरोप लाग्दै आएको रेडक्रसको राहत वितरणदेखि उद्दारको क्षेत्रमा पनि कमजोर उपस्थिति रहेको विभिन्न राजनीतिक दलका नेताहरुको भनाई रहेको छ ।
नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा रेडक्रस जस्तो पबित्र संस्थाले राहत वितरणदेखि कर्मचारी राख्ने र राहत बोक्ने क्रममा समेत विभिन्न शिर्षकमा अनियमित रुपमा रकम खर्च गर्दै आएको बताए । ‘रेडक्रसका कार्यक्रम पारदर्शी छैनन्,’ खतिवडाले भने– ‘जुन कार्यक्रममा पनि आफन्तमुखी र कांग्रेसमुखी छ ।’
नेपाल रेडक्रस सोसाइटी नुवाकोटले अहिले विभिन्न प्रकारका पाँच भन्दा धेरै कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, सबैजसो कार्यक्रममा विवादरहित भने हुन नसकेको रेडक्रसकै एक सदस्यले नाम नबताउने शर्तमा बताए ।
‘कार्यक्रमको बारेमा गुनासो धेरै आएको छ,’ ती सदस्यले भने – यसलाई सुधारेर अघि नबढे रेडक्रस नामकै बदनाम हुनेछ ।’
अहिले विश्व खाद्य कार्यक्रमको चामल वितरणदेखि अन्तराष्ट्रिय संघसंस्थाको सहकार्यमा सञ्चालन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको रेडक्रसका पदाधिकारीकै कारण ती दातृ निकायसमेत अन्यौलमा परेका छन् । हरेक कार्यक्रम पारदर्शी नभएको, त्रिपाल, टेन्ट वितरणदेखि आपतकालीन राहत वितरणमा समेत रेडक्रस संस्था विवादित रहेको एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा बताए । ‘जिल्लादेखि गाउँसम्म विवाद नभएको विषय नै छैन’ खतिवडाले भने– ‘यसलाई सुधार गरेर अघि बढ्न सुझाव दिएका छौँ ।’
रेडक्रसले सञ्चालन गरेका कार्यक्रममा कांग्रेसमैत्री भएको भन्दै हल्देकालिका गाविस वडा नंं ५ का महिलाहरुले गत साता जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत पेश गरे । मनोसामाजिक परामर्शको काम गर्ने संस्थाले सो गाविसको वडा नंं १ मा एक घरमा मात्र छुटाएर अरु हुने खाने र सम्पन्न परिवारलाई राहत वितरण गरेको उनीहरुको आरोप छ । ‘कांग्रेस भएमात्र राहत पाइन्छ भन्छन्, एक महिलाले भनिन्– ‘तीन वटा घर र एउटै घरका तीन जनासम्मलाई राहत दिएका छन्, हामीलाई भने पाउँदैनौँ भने ।’
विनाशकारी भूकम्पपछि जिल्लामा विपद व्यवस्थापनको भूमिका प्रभावकारी निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला रेडक्रसका पदाधिकारीले सरकारी कर्मचारी र उद्दार टोलीलाई चीनले दिएको एक सय थान टेन्ट दुरुपयोग गरेको आरोप लागेको छ । रेडक्रस जिल्ला अध्यक्ष सुरथबहादुर चित्रकारसहित पदाधिकारीहरुले उद्दारको लागि प्राप्त भएको टेन्ट आफन्तहरुलाई वितरण गरेका थिए ।
रेडक्रसले गाविसहरुमा राख्ने स्वयंसेवकदेखि जिल्लातहमा राखिएका कर्मचारी रेडक्रसका सदस्यका आफ्ना मान्छे मात्र भर्ती गरेर रेडक्रसले चरित्र उदाङ्गो बनाइदिएको एमाले उपाध्यक्ष विन्दा ढुंगानाले बताइन् । ‘कर्मचारी राख्नेदेखि गाउँका कार्यक्रमसम्म सन्तोषजनक छैन, उनले भनिन् – ‘नियम कानुन र मान्यतालाई मिचेर काम गरेको पाइयो ।’
रेडक्रसका पदाधिकारीहरुले राहत ढुवानी गर्ने गाडी भाडामा लिने विषयमा समेत कर्मचारी र पदाधिकारीले आफ्ना मान्छेका गाडीलाई चर्को मूल्य तिरेर ढुवानी गर्न लगाएपछि जिल्लामा ढुवानी दरसमेत बढेको छ । ‘रेडक्रसले बढी मूल्य तिरेर गाडी लिँदा ढुवानी रेट बढेको छ, राप्रपाका जिल्ला अध्यक्ष झनक प्याकुरेलले भने– ‘आपतकालीन सेवाको नाममा भएको कमजोरी उसले सच्याउनुपर्छ ।’ प्याकुरेलले रेडक्रसको चरम लापरबाहीले सिमा नाघेको बताउँदै रेडक्रसका पदाधिकारीहरुकै कारण रेडक्रस जस्तो पबित्र संस्थाको बदनाम हुँदै आएको बताए ।
केही दिन अघि रेडक्रसले गरेका चरम लापरवाही र अपारदर्शीताको विषयमा राजनीतिक दलका नेताहरुले समेत प्रश्न उठाएका छन् । जिल्लाका अधिकांश राजनीतिक दलहरु रेडक्रसको विरुद्ध खनिएपछि नेपाल रेडक्रस सोसाइटीमार्फत गरिने अधिकांश कार्यक्रममाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
















प्रतिक्रिया