खोटाङ, १८ असार । प्रमुख अतिथिको विषयमा कुरा नमिलेपछि आज आयोजना गरिएको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
एमालेले आफ्नो पार्टीबाट विजयी सभासद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सर्वदलीय÷सर्वपक्षीय बैठकले काँग्रेसबाट समानुपातिक कोटामा सभासद् बन्नुभएकी सरस्वती बजिमयलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो, पछि आएर एमालेले आफ्नो पार्टीबाट प्रत्यक्ष निर्वाचित सभासद्लाई बनाउनुपर्छ भन्यो, त्यही विषयमा कुरा नमिलेपछि घोषणा कार्यक्रम स्थगित गरिएको हो ।”
अतिथि विवादमा नभई सबै घरमा चर्पी नबनी घोषणा गर्ने तयारी गरिएकाले केही समय पछि सारेर सबै घरमा चर्पी बनाएपछि मात्र घोषणा गर्न आग्रह गरिएको एमाले अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।
सबैको घरमा चर्पी निर्माण भएको अनुगमन टोलीले दिएको जानकारीपछि बसेको बैठकको निर्णयअनुसार शुक्रबार खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय÷सर्वपक्षीय भेलामा असार १८ गते नगरपालिका घोषणा गर्ने निर्णय भएको थियो, सोहीअनुसार हामीले तयारी गरेका थियौँ तर, घोषणा गर्ने समयमा आएर सहमति जुट्न सकेन !”















प्रतिक्रिया