
काठमाडौं, ९ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि अन्याय भएको दोहोर्याएका छन् ।
आज म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएका लामिछानेले न्यायाधीस भीमलाल बेलबासेसँग आफूमाथि अन्याय भएको गुनासो गरेका हुन् । आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दावी गर्दै उनले सार्वजनिक रूपमै यसो गर्छौँ, ठाउँठाउँमा मुद्दा लगाइदिन्छु, योपछि अर्को मुद्दा लगाइदिन्छु, ९० दिन लगाइदिन्छु भनिएको बताएका हुन् ।
लामिछानेले आफू बोल्दा प्रतिशोध साँधिएको भन्दै न्यायाधीससँग पनि बोल्न डर लाग्ने बताएका थिए । उनले भने, ‘श्रीमान, अन्याय भएको छ ममाथि । त्यहि भएर तपाईँसँग डिबेट गर्न पनि डर लाग्छ । तर तपाईँमाथि पूर्ण आशावादी छु श्रीमान,’ ।
उनले आफूलाई धरौटीमा रिहा गर्न न्यायाधीसलाई आग्रह गरेका थिए । उनले बरू आफू पोखरा छोडेर बाहिर नजाने समेत बताएका थिए । जवाफमा न्यायाधीसले अन्य जिल्लामा पनि लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएकाले रिहा गर्ने बित्तिकै पक्राउ पर्ने बताएका थिए।
न्यायाधीश बेलबासेले भने, ‘मैले छोडेर के गर्नु तपाईँलाई समाएर फेरी अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरु जिल्लाबाट पनि । मैले छोडेर कुनै औचित्य नै हुन्न । कसमेकम यहिँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केशको क्रममा ति केश पनि सकिन्छन्,’ ।








प्रतिक्रिया