– सन्तोष काफ्ले
सुनसरी, १८ असार । पूर्वी नेपालमा सशस्त्र भूमिगत पार्टी किरात वकर्स पार्टी (विद्रोही समूह)ले शुक्रबार धरानमा दोस्रो चरणको हतियार प्रशासनलाई बुझाउदै शान्ति प्रक्रियामा आएको घोषणा गरेको छ ।
पार्टीले धरानको किरात यायोख्याको भवनमा एउटा पेस्तोलसहित चारवटा थ्री नट थ्री राइफल बुझाउँदै सशस्त्र विद्रोहलाई त्याग गरी शान्ति प्रक्रियामा आएको घोषणा गरेको हो ।
गत साउन १३ गते इलाममा विद्रोही र राज्यपक्षबीच संवैधानिक संवाद तथा सहमति प्रारम्भिक उपसमिति गठन गरी बसेको वार्ताबाट दुवैपक्षबाट भएको सहमति पश्चात हतियार बुझाइएको किरात वर्कस पार्टीकी केन्द्रीय अध्यक्ष साङकेन्मा किरातीले जानकारी दिनुभयो ।
उहाँले पार्टीले आत्मनिर्णयको अधिकार सहित तीन किरात एक विरासतको स्थापना गर्ने, विद्रोहीका समयमा पार्टीमाथि लागेका मुद्धा खारेज गरी बन्दी भएका कार्यकर्तालाई रिहा गर्नुपर्ने आन्दोलनका क्रममा मृत्यु भएका हुन पुगेका विवश विद्रोही र खगेन्द्र जवेगुलाई सहिद घोषणा गर्ने, अर्ध सैनिकलाई भरणपोषण र सहिद परिवारलाई १ करोड राज्यले उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलनमा होमिएको पार्टी इलाममा बसेको वार्ता पश्चात सरकार लचिलो देखिएकोले हतियार बुझाई सशस्त्र विद्रोह परित्याग गरिएको बताउनुभयो ।
उहाँले नेकपा एमाओवादीको नेतृत्वमा सरकार सञ्चालन हुँदादेखि नै वार्ता पटक पटक भएपनि अहिले आएर वार्ता सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
यता संवैधानिक संवाद तथा सहमति प्रारम्भिक वार्ता उपसमितिका संयोजक एवम् सभासद आनन्दप्रसाद ढुंगानाले सशस्त्र विद्रोहमा लागेकाहरु शान्ति प्रक्रियामा आएर मुलुकको संविधान निर्माणलाई सहयोग पु¥याउनु सुखद कुरा भएको भन्दै किरात वर्कस पार्टीले राखेका मागहरु सुनुवाईमा सरकार लचिलो बन्ने बताउनुभयो ।
गत साउन २३ गते इलाममा बसेको वार्ता उपसमितिको छलफलल निश्कर्षमा पुगेपछि पुष २२ गते खोटाङमा सोही परिणामको हतियार पार्टीले बुझाएको थियो भने आज धरानमा दोस्रो चरणको हतियार बुझाई शान्ति प्रक्रियामा आएको घोषणा गरेको हो । घोषणा सभामा सुनसरीका प्रजिअ रविलाल पन्थ, वार्ता समितिका सदस्य धर्मनाथ साह, अशोक कुमार राई, शक्ति बस्नेत लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया