२९ आश्विन २०८३, बिहिबार

उपत्यकामा १३ नगरपालिका घोषणा गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu

काठमाडौं, २६ जेठ । सरकारले काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका गाविस मिलाएर कम्तीमा १३ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षदेखि नै ती नगरपालिका कार्यान्वयनमा ल्याउने सरकारको योजना छ ।

उपत्यकालाई गाविसबिहीन बनाई ‘मेट्रोसिटी’का रुपमा विकास गर्ने अवधारणाअनुसार थप नगरपालिका घोषणा गर्न लागिएको हो । हाल काठमाडौंमा महानगरपालिकासहित दुई, भक्तपुरमा दुई र ललितपुरमा एक उपमहानगरपालिका गरी उपत्यकामा पाँच नगरपालिका रहेको छ ।

नगर क्षेत्र निर्धारण सिफारिस समितिका अध्यक्ष केशवानन्द गिरीले ललितपुर जिविसले दुईओटा नयाँ नगरपालिकाको नाम सिफारिस गरेको तथा काठमाडौं र भक्तपुरले पनि छलफल गरिरहेको बताए ।

‘काठमाडौं र भक्तपुरले पनि २७ जेठभित्रै निर्णय गर्नेगरी सिफारिस गर्नेछन्,’ गिरीले भने, ‘त्यसपछि हामीले नगरपालिका बन्न योग्य भए/नभएको मापदण्डअनुसार निक्र्योल गरी सरकारलाई सिफारिस गर्नेछौं ।’

सरकारले गत २५ वैशाखमा ७२ ओटा नगरपालिका थप गरेको थियो । सोही दिन उसले देशभरका अन्य गाविसलाई पनि मिलाएर नयाँ नगरपालिका बनाउन गिरीको अध्यक्षतामा समिति गठन गरेको राजधानी दैनिकमा खबर छ।