ओखलढुङ्गा, १८ असार । थाक्ले–९ स्थित जयरामघाटमा सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यवसायी १५ दिनदेखि बेपत्ता भएका छन् ।
बेतेनी–२ स्थायी ठेगाना भएका २३ वर्षीय इन्द्र विक असार २ गते रातिदेखि जयरामघाटको डेराबाटै बेपत्ता भएको परिवारले बताएका छन् । आफन्तकोमा गएको अनुमान गरेर बसेको परिवारले लामो समयसम्म सम्पर्कमा नआएपछि असार १० गते प्रहरीमा उजुरी दिएका थिए ।
बेपत्ता भएको १५ दिनसम्म पनि विकको अवस्थाबारे केही नखुलेकाले घटना रहस्यमय बनेको सुनचाँदी व्यवसायी सङ्घ ओखलढुङ्गाका सचिव युवराज गजमेरले बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बर विकले बताउनुभयो । रासस















प्रतिक्रिया