काठमाडौं, १८ असार । महिलामाथि अश्लील व्यवहार गर्ने कृषिमन्त्री हरि पराजुलीले सर्वत्र विरोधपछि बिहीबार राजीनामा दिएका छन् ।
एमाले अध्यक्ष केपी ओलीलगायतले पद नछाडे बर्खास्त गर्ने चेतावनी दिएपछि पराजुलीले बिहीबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा बुझाएका हुन् ।
पराजुलीले असार १५ गते राजधानीको मुलपानीमा धान रोपाइँ कार्यक्रममा महिलामाथि अश्लील व्यवहार गरेको तस्बिर र भिडियो सार्वजनिक भएको कान्तिपुर दैनिकले छापेको छ ।
त्यसलाई लिएर सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत व्यापक आलोचना भयो ।
उनलाई बर्खास्त गर्न सत्ता साझेदार एमालेको नेतृत्व र प्रधानमन्त्री सुशील कोइरालामाथि तीव्र दबाब परेको थियो ।
संसदमा विपक्षी सांसदहरूले पराजुलीलाई हटाउन माग गरेका थिए । त्यस्तै एमालेका नेताहरूले पनि उनलाई हटाउन नेतृत्वलाई दबाब दिएका थिए ।
पराजुलीले आफ्नो राजीनामा पत्रमा मिडियालाई दोषी देखाई चोखिन खोजेका छन् ।
कोइराला नेतृत्वको सरकारमा मन्त्रीबाट हट्ने एमालेका चौथो नेता पराजुली हुन् ।
यसअघि एमालेले कार्यशैली ठिक नभएको भन्दै ३ मन्त्री फेरेर नयाँलाई पठाएको थियो ।
सुरुमा पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई एमालेले फिर्ता बोलायो । आचार्यको स्थानमा दीपक अमात्यलाई मन्त्री बनाइएको थियो ।
उनले पनि राम्रो काम गर्न नसकेको भन्दै फिर्ता बोलाएर गत महिना कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइयो । एउटै मन्त्रालयमा डेढ वर्षमा तीन मन्त्री फेरिइसकेका छन् ।















प्रतिक्रिया