काठमाडौं, १७ असार । नेकपा एमालेले तत्काल सरकारमा कुनैपनि नयाँ मन्त्री नपठाउने निर्णय गरेको छ ।
निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतले पार्टी र देशलाई लज्जित बनाएको भन्दै तत्काल कुनैपनि नयाँ मन्त्रीलाई तत्काल सरकारमा नपठाउने निर्णय गरेको एमालेले जनाएको छ । साथै एमालेले संस्थागत निर्णय गरी सरकारमा रहेका मन्त्रीको कार्यशैलीका बारेमा पनि समिक्षा गर्ने निर्णय गरेको छ ।
यस्तो छ कारण:
१) गुटगत विवाद
२) पार्टीको भावना अनुसार काम नगर्नु ।
३) पदीय मर्यादामा बस्न नसक्नु ।
४) नेताको खल्लीबाट मन्त्री बन्नु
५) पार्टीमा संस्थागत निर्णयविनै मन्त्री पद पाउनु ।
६) पदीय मर्यादा भुलेर पार्टी र देशको बेइज्जत गर्नु ।
रोपाईमा अश्लील हर्कत देखाएको भन्दै पार्टीभित्रै चर्काे आलोचना भएपछि निवर्तमान कृषिमन्त्री पराजुलीले विहीबार विहान राजीनामा दिएका थिए ।
पराजुलीको राजीनामा पछि एमालेले सरकारमा नयाँ मन्त्री पठाउने चर्चा चलिरहेको थियो । जसमा बलराम बास्कोटा र केशवलाल श्रेष्ठ नयाँ मन्त्री बन्ने दौडमा थिए । तर, पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि एमाले अध्यक्ष केपी ओली तत्काल नयाँमन्त्रीलाई सरकारमा पठाउने निर्णयबाट ‘व्याक’ भएका हुन् ।
तत्कालका लागि एमालेले सम्हाल्दै आएको कृषि मन्त्रालय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नै हेर्नेछन् । अन्य मन्त्रीको कार्यशैली हेर्ने जिम्मा पनि वामदेवले पाएका छन् ।
तत्काल सरकारमा नयाँमन्त्री पठाउने निर्णयबाट एमाले ‘व्याक’ भएको कुरा अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकेका छन् ।
अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले अब एमाले संस्थागत निर्णयबाट मात्रै सरकारमा मन्त्री पठाउने निर्णयमा पुगेको जानकारी दिनुभयो ।
यो निर्णयसँगै खेलकुद मन्त्री पुरुषोत्तम पौडल र पर्यटनमन्त्री कृपासुर शेर्पालाई सरकारबाट फिर्ता बोलाउने मुद्दा पनि टरेको छ । तत्काल मन्त्री पठाउने निर्णय फिर्ता लिएपछि पार्टी नेता कार्यकर्ताले त्यसको स्वागत गरेका छन् ।













प्रतिक्रिया