२० असार २०८३, शनिबार

राजनीतिक दल सामाजिक संस्था भएकाले नागरिकस्तरबाट सहयोग पाउनु स्वभाविक : शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दल पनि सामाजिक संस्था भएका कारणले त्यसको पुनर्निर्माण राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वाभाविक हक भएको बताएका छन् ।

कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त उल्लेख गर्दै पोखरेलले यस्तो अवस्थामा एमालेले पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रूपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित नभएको बताउनु भएको हो ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले कार्यकर्ताबाट पर्याप्त सहयोग रकम सङ्कलन हुन नसकेको र बल्खु स्थित पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने पार्टीको संस्थागत निर्णय गरिएको स्पष्ट पारेका छन् । यस्तो अवस्थामा पार्टीले विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुनर्निर्माण लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना राखेकोले सहयोग लिएको लिएको उल्लेख गरेका हुन् ।

‘यस्तो सहयोग लिनु स्वाभाविक हो, अन्यथा ठान्न मिल्दैन’, उनले लेखेका छन् । महाविपत्तिमा भएको क्षतिको पुनर्निर्माण सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै रहेको पनि उनले स्पष्ट पारेका छन् । महाविपत्ति पछिको राहत, उद्धार र पुनर्निर्माण राज्यले समेत नागरिक र अन्तराष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजन जानकार नै रहेको पोखरेलले स्मरण गराए । नेकपा एमालेले नयाँ पार्टी कार्यालय बनाउनका लागि नभई पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुनर्निर्माण गर्न लागेको पनि उनले स्पष्ट पारेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माण नेतृत्व नेकपा एमाले आफैँले सरकारमा रहँदा गरेको पनि उनले स्मरण गराएका छन् । एमालेले पहिले जनताका घर पुनर्निर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण गर्ने नीति लिएको पनि उनले स्मरण गराएका हुन् ।

यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुनर्निर्माण गर्न खोजेको उनले उल्लेख गरेका छन् । त्यो पनि बाढी र डुबानका कारणले भाडमा रहेको पार्टी कार्यालयमा ठुलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको पोखरेलले स्पष्ट पारेका छन् ।