काठमाडौँ, १६ असार । नेपाल र मध्यएसियाली मुलुक कजाखस्तानबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
योसँगै नेपालसँग कूुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या एकसय ३९ पुगेको छ ।
द्विपक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा मङ्गलबार न्युयोर्कमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराई र राष्ट्रसङ्घका लागि कजाखस्तानका राजदूत केइरात अब्ड्राखामनोभले हस्ताक्षर गर्नुभयो ।
युरोपका केही भागसहित मध्य एसियामा फैलिएको कजाखस्तान विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित मुलुक हो ।
दुवै मुलुकका राजदूतले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलाई नेपाल र कजाखस्तानबीच स्थापना भएको कूटनीतिक सम्बन्धबारे जानकारी गराउनुभएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
















प्रतिक्रिया