
काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हालै भएको अखिल नेपाल फुटबल संघ (एन्फा)सँगसम्बन्धी घटनाको छानबिन र पीडितहरूलाई न्याय दिनका लागि माग गर्नुभएको छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीका कारण पहिरोमा परी ६ जना किशोरको दुःखद निधन भएको विषयमा छानबिन गर्न माग गर्नुभएको हो ।
थापाले २०४५ साल फागुनमा दशरथ रंगशालामा भएको दुर्घटनाको स्मरण गर्दै त्यसबेला आफूले एन्फा अध्यक्षबाट राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले त्यस समयको सरकारले छानबिन आयोग गठन गरेको र अन्ततः राष्ट्रिय खेलकुद परिषद् विघटन भएको तथा शिक्षामन्त्रीले राजीनामा दिनुपरेको स्मरण गर्नुभएको छ ।
‘२०४५ साल फागुनमा आँधिबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षबाट मैले तत्काल राजिनामा दिएँ ।’ थापाले भन्नुभएको छ, ‘सरकारले छानबिन आयोग गठन गर्यो । अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो, शिक्षामन्त्री राजिनामा दिन बाध्य भए ।’
हालै एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीका कारण पहिरोमा परी ६ जना किशोरको दुःखद निधन भएको घटनालाई उल्लेख गर्दै थापाले वर्तमान एन्फा नेतृत्वबाट राजीनामाको अपेक्षा नगरेको बताउनुभयो । तर उहाँले सरकारले छानबिन आयोग गठन गरोस् र पीडितलाई न्याय दिओस् भन्ने माग गर्नुभएको छ ।
थापाले भन्नुभएको छ, ‘गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानबिन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु ।’
थापाले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।
गत असोज १२ गते मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परेर ६ जना खेलाडीको मृत्यु भएको थियो । सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिकाको श्री वात्सल्यदेवी उच्च माध्यमिक विद्यायलमा सञ्चालित एन्फा एकेडेमीका ६ खेलाडीको मृत्यु भएको थियो ।












प्रतिक्रिया