२३ कार्तिक २०८३, सोमबार

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

पर्साको पकहाँ मैनपुर गाउँपालिकामा बडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै मन्त्री गुप्ताले आफ्नो पालिका र जिल्लाको विकासका लागि राजनीतिक आस्था भन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताउनुभयो । साथै, उहाँले पर्सा जिल्ला कृषि योग्य रहेकाले यहाँकै जनप्रतिनिधि हिसाबले आफू र सिंगो सरकार यहाँको विकासका लागि गम्भीर रहेको बताउनुभयो ।

यो पालिकामा बढी कृषि योग्य भूमि भएकोले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउन सुरुवात भएको बताउँदै मन्त्री गुप्ताले कोल्ड स्टोर सञ्चालन भएसँगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, उहाँले पालिकाको धोविया टोल हुँदै लहवारथकरी जोड्न सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकाले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गर्नुभयो ।