७ कार्तिक २०८३, शनिबार

नेता र कर्मचारीलाई कमाई खाने भाँडो बन्यो साँफे मार्तडी सडक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road-aacham– मदनराज जोशी

साँफेमार्तडी सडकखण्ड डिभिजन कार्यालयका कर्मचारी र केहि दलका नेताहरुका लागि खेतीपाती जस्तै बनेको छ ।

बाजुरा, १६ असार । निर्माण कार्य सुरु भएको २० वर्षसम्म अधुरै साँफे मार्तडी सडक खण्ड फेरि अवरुद्ध भएको छ । बर्षातको पानीले सडक बिग्रीएको र खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ । २०५२ साल शिलान्यस गरिएको सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले ८ वर्षभित्र मार्तडी बस सेवा सुचारु गर्नेगरी सडक शिलान्यास गर्नु भएको थियो । ५७ किलोमिटर दुरी रहेको सडक यसैसाताबाट अवरुद्ध भएको हो । साँफे मार्तडी नाम दिएको सडकखण्डमा अझै पहिलो चरणको निर्माण कार्य पुरा भएको छैन् ।

सडक डिभिजन कार्यालयले अछामको साँफेबगरबाटै कामकार्वाही सञ्चालन गर्ने गरेको छ । कात्र्तिकबाट असार पहिलो सातासम्म तिपाडामा बस पुग्ने गरेपनि बर्षातसुरु भएदेखि नै बन्द हुने गरेको छ । हालसम्म ३३ किलोमिटर मात्र कालोपत्रे गरिएको छ । त्यो पनि २ वर्ष नबित्दै भत्किसकेको छ । हालसम्म १ अर्बबढी रकम खर्च भएको तथ्याङ्क सडक डिभिजन कार्यालयमा छ । सरकारले प्रत्येक वर्षको बार्षिक बजेटमा सम्बोधन गर्ने गरेको छ ।

साँफेमार्तडी सडकखण्ड डिभिजन कार्यालयका कर्मचारी र केहि दलका नेताहरुका लागि खेतीपाती जस्तै बनेको छ । बुढीगंगा लगायत, पाँच वटा स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि सबै अधुरा जस्तै देखिएका छन् । जिल्लाबासीले प्रहरीको गोली खाएर गरेको आन्दोलनको उपलब्धी बेलिब्रिज निर्माण गरिएपनि २५ किलोमिटर बाटोमा ट्याक्टर बाहेकका सधान चल्न सकेका छैनन् । बार्जुगाडमा पुल निर्माण गरेको एक महिना बितेपनि औपचारिक रुपमा उद्घाटन नगर्दा सेवा बेतालमाण्डौ रोक्नु परेको व्यवसायीले बताएका छन् ।

बर्षाले सडकपनि ठाउँठाउँमा भाँसिएको, भत्किएको, पहिरो र ढुंगाले पुरिएको अवस्था छ । ज्यानको जोखिम लिएर जिप ट्याक्टर सञ्चालन गरेपनि आम्दनीभन्दा बढी मर्मत मै खर्च हुने गरेको जिप चालक भरत खड्काले बताए । बाजुराको तिपाडामा भेरी, महाकाली र सुदूरपश्चिम यातायातका बसहरु आउने गरेका थिए । सेवा बेतालमाण्डौ रोकिएपछि यात्रुहरुलाई मार्तडीबाट एक दिनको पैदन दुरी पार गर्नु पर्ने बाध्यता छ ।

नेताहरुले पनि पहुँच नहुँदा सडकको निर्माण कार्य छिटो सम्पन्न गर्न नसकेको स्वीकार गर्ने गरेका छन् । २० वर्षसम्म पनि ५७ किलोमिटर सडक निर्माण नभएको देशकै एकमात्र सडक हो । सेवा कात्र्तिक नआएसम्म सुचारु नहुने निश्चित छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुलाई मात्र समस्या नभई जिल्ला बासीलाई नै सास्ती भोग्नुपर्ने बाध्यता छ । बर्षातमा समान ढुवानीको समान खच्चडसमेत नचल्ने भएकोले स्थानीय बजारमा समानको अभाव र महँगी बढ्ने गरेको छ । जसका प्रत्यक्ष मारमा सर्वसाधारणलाई पर्ने गरेका छन् । व्यापारीहरुले अधिकांश समान स्टक गरेर राखिसकेका छन् । त्यो समान सस्तो दरमा ढुवानी गरिएपनि साउन भदौमा दोब्बर बढी मूल्यले विक्री गर्ने गरेका छन् ।

बाटो अवरुद्ध हुँदा बाजुरा लगायत हुम्ला, मुगु, कालीकोट गाविसका सर्वसाधारण समस्या भएको छ । जिल्लामा विमान सेवा पनि अवरुद्ध छ । धावनमार्गमा कालोपत्रे भईरहेकोले सेवा अवरुद्ध भएको दुईमहिना बढी बितिसकेको छ । यता अछामको सिमानामा गएर बस सेवा चढ्नु पर्ने हुँदा आपतकालिन विरामी, सुत्केरी लगायत जटिक खालका विरामीको उपचारमा पनि समस्या हुने गरेको छ ।