भीमदत्तनगर, १६ असार । गत आइतबार बझाङमा यार्सागुम्बा टिपेर फर्किने क्रममा सेती नदीमा बेपत्ता भएका चार युवाको अझै पत्तो लागेको छैन ।
घटनापछि झन्डै एक दिनको पैदल यात्रापछि घटनास्थल काँडा गाविस पुगेको प्रहरी टोलीले साँघु बनाउने क्रममा युवा सेती नदीमा बेपत्ता भएको जनाएको छ । ‘धुली प्रहरी चौकीको टोली स्थलगत अनुसन्धानपछि मङ्गलबार राति चौकीमा फर्किएको छ”, जिल्ला प्रहरी कार्यालय बझाङमा प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मीराज अधिकारीले रासससँग भन्नुभयो, “सेती नदी तर्न साँघु बनाउने क्रममा तीनजना बगेको तथ्य खुलेको छ ।”
यार्सा टिपेर फर्किरहेको २१ जनाको टोलीले स्यामवनबाट चाल्लावन आउने क्रममा बीच पर्ने सेती नदीमा साँघु बनाउँदै थिए । “साँघु नदी वारपार गराउने क्रममा छेउसम्म नपुगेपछि हातबाट फुत्किन लागेको साँघु रोक्न खोज्दा सुरु तीन जान बगे”– प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो, “साथीहरुलाई बग्नबाट बचाउन खोज्दा थप एक युवा बगेको देखियो ।” अन्य बाँकी यार्सा सङ्कलकले सेती नदीको छेउछाउमा बेपत्ताको खोजी कार्य गरे पनि नभेटिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी प्रहरीले बेपत्ताको खोजी कार्यमा सेती नदीको विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरेको जनाएको छ । “घटनास्थलदेखि चैनपुरसम्म प्रहरीका टोली विभिन्न स्थानमा खटिएका छन्”, अधिकारीले भन्नुभयो, “अहिलेसम्म कहीँ भेटिएको छैन ।” आइतबार दिउँसो ३ः३० बजे नदीमा कैलाश गाविस–१ का २५ वर्षीय महेश सिंह, सोही गाउँका ४० वर्षीय सुन्ते शाही, कैलाश–४ का २८ वर्षीय सुवन सिंह र कैलाश–६ का ४० वर्षीय डम्बरबहादुर सिंह बेपत्ता भएका थिए । घटनास्थल सीमा प्रहरी चौकी धुलीबाट एक दिन र सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा पर्छ । रासस















प्रतिक्रिया