
हेटौंडा, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउँपालिकाका बाढीपहिरो पीडित १ सय ८० घर परिवारलाई राहत वितरण गरेको छ ।
आइतबार साझ बकैया-१० को अम्बास, ठिंगनबेसी, धुवाकोट, केराबारी र घैयाटारका बाढीपहिरो प्रभावित १ सय ८० घरपरिवारहरूलाई अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
संघीय संसद् पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंह, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र बकैया-१० वडा अध्यक्ष कमला वाइबालगायत जनप्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरिएको राप्रपा मकवानपुर क्षेत्र १ (ख)का अध्यक्ष उमेश थापाले जानकारी दिनुभयो ।
राहत वितरण गर्दै पूर्वाधार विकास समिति सभापति सिंहले विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बकैयाका धेरै घरपरिवार प्रभावित बनेका छन् ।
राप्रपा मकवानपुरले शनिबार पनि बकैया-१० मन्थलीका बाढीपहिरो प्रभावित ८० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो ।












प्रतिक्रिया