काठमाडौं, २५ जेठ । आसन्न नवौं महाधिवेशनलाई लिएर नेकपा एमाले संसदीय दलका नेता केपी ओली पक्षले सोमवार राजधानीको भृकुटीमण्डपमा बृहत भेला गर्दैछ ।
नेता ओली लामो समयको स्वास्थ्योपचारवाट फर्केपछि सोमबार पहिलोपटक कार्यकर्ताबीच प्रस्तुत हुन लागेका हुन् ।
पार्टीको नवौं महाधिवेशनलाई विचारधारात्मक, संगठनात्मक र कार्यशैलीगत रुपमा एकतावद्ध बनाउने एमाले कार्यकर्ताहरुको भावनालाई अभिब्यक्त गर्न बृहद राष्ट्रिय भेलाको आयोजना गरिएको ओली समूहले बताएको छ । भेलामा अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपालप्रति कडा रुपमा प्रस्तुत हुने ओली पक्षको तयारी छ ।
‘पार्टीको प्रमुख नेतृत्वमा तीन कार्यकाल ब्यतित गरिसकेर राजीनामा दिइसकेकाले पनि फेरि नवौं महाधिवेशनमा पार्टीको नेतृत्व हस्तान्तरण सर्बसम्मत हुन नदिन गरिरहेको प्रयासका बारे’ ओली पक्षमा रहेका शीर्ष नेताहरुले आफ्नो धारणा र दृष्टिकोण सार्वजनिक गर्ने बताइएको छ ।
भेलामा एमालेलाई राष्ट्रिय राजनीतिका चुनौतीको सामना गर्न सक्ने पार्टी कसरी बनाउने र त्यसका लागि नेतृत्व हस्तान्तरण किन आवश्यक छ भन्ने औचित्यका विषयमा नेता ओलीले कार्यकर्तालाई सम्बोधन गर्नेछन् । भेलामा सहभागिताका लागि एमालेका केन्द्रीय पदाधिकारी, सदस्य, केन्द्रीय निकाय, विभाग, आयोगहरु, फाँट, जनसंगठन र उपलब्ध अञ्चल र जिल्लाका पदाधिकारी, सभासदहरु र सदस्यहरुलाई आमन्त्रण गरिसकिएको भेला आयोजक समितिले जनाएको छ ।
भेलालाई पार्टी संसदीय दलका नेता ओलीसहित उपाध्यक्ष बामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेल र शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
एमाले अनुशासन आयोग नै गुटबन्दीमा: ओली समूह
यता, एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले शनिबार जारी गरेको विज्ञप्तिप्रति ओली समूह आक्रोशित बनेको छ ।
जेठ १७ गते वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्दा चुप बसेको तर आफ्नो पक्षले गर्न लागेको भेलालाई प्रभावित गर्न गरी बोहोराले विज्ञप्ति निकालेको ओली पक्षधरको आरोप छ । बोहोराले शनिबार विज्ञप्ति जारी गरी छुट्टा छुट्टै भेला नगर्न ध्यानाकर्षण गराएका थिए ।
बोहोरा पत्नी समेत रहेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले नेपालको घोषणा सभालाई समेत सम्बोधन गरेकी थिइन् । त्यतिबेला चुप लागेका बोहोराले अहिले अनुशासन आयोगको नाममा विज्ञप्ति निकालेर गुटबन्दी गर्न खोजेको ओली पक्षीय एक नेताले बताए ।
सोमबारको सभालाई नै सम्बोधन गर्नका लागि एमाले केन्द्रीय कमिटी बैठकको समेत २७ गतेसम्मलाई स्थगित गरिएको छ ।















प्रतिक्रिया