३० आश्विन २०८३, शुक्रबार

हाल प्रति महिलाले १.१९ शिशु जन्माउँछन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pragnantकाठमाडौं, १६ असार । सिङ्गापुरको जनता विश्वका अन्य कुनै पनि समाजभन्दा द्रुत रूपमा प्रौढ हुँदै गइरहेको बताउँदै प्रधानमन्त्री ली सिङ लुङले मङ्गलबार यसले अर्थतन्त्र तथा प्रतिरक्षामा गम्भीर प्रभाव पार्नसक्ने चेतावनी दिनुभएको छ ।

त्रिसट्ठी वर्षीय लीले आफ्नो नगरराज्य सरकारले नागरिकलाई थप शिशु जन्माउन अभिप्रेरित गरेपनि यस दशकमा सबैभन्दा कम दरमा जनसङ्ख्या वृद्धि भएको बताउनुभयो ।

सिङ्गापुर व्यवस्थापन विश्वविद्यालयले आयोजना गरेको मञ्चमा बोल्दै प्रधानमन्त्री लीले कसका लागि खर्च गर्न कसले कर तिर्ने भन्ने कुरा अन्यौल बन्दै गएको बताउनुभयो ।

उहाँले सिङ्गापुर सशस्त्र सेनामा को व्यक्ति जाने र कसले प्रतिरक्षा गर्ने भनी प्रश्न गर्नुभयो ।  उहाँले मुलुकको जनसङ्ख्यामा देखिएको परिवर्तनलाई मुलुकले आउँदो वर्ष भोग्ने प्रमुख चुनौतीको रूपमा प्रस्तुत गर्नुभयो ।

जापान, दक्षिण कोरिया तथा हङकङले पनि यस्तो समस्या भोगेको छ ।  गत वर्ष सिङ्गापुरको जनसङ्ख्या १.३ प्रतिशत मात्र वृद्धि भएको थियो । यो गत दश वर्षकै सबैभन्दा कम वृद्धि हो । उहाँले यस्तो प्रवृत्ति निरन्तर रहने बताउनुभयो ।

सिङ्गापुरको जनसङ्ख्यामा सन् २००० मा ६५ वर्ष नाघेका जनसङ्ख्या दुई लाख २० हजार रहेकोमा हाल चार लाख ४० हजार पुगेको र त्यो सन् २०३० मा नौ लाख पुग्ने बताउनुभयो ।

उहाँले हाल पाँच वयस्कले काम गरी एक प्रौढ नागरिकलाई सहयोग गरिरहेको अवस्थामा सन् २०३० मा दुई वयस्कले काम गरी एक प्रौढ नागरिकालाई सहयोग गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

सिङ्गापुरमा हाल प्रति महिलाले १.१९ शिशु जन्माउने अवस्था देखिएको छ । सन् २०१४ को जुनमा सिङ्गापुरको जनसङ्ख्या ५४ लाख ७० हजार रहेको देखिएको छ । यसमा ४० प्रतिशत विदेशी रहेका छन् । रासस/एएफपी