काठमाडौं, १५ असार । इन्डोनेसियाको वायुसेनाको एक विमान मङ्गलबार उडेको केही समयमै एक प्रमुख नगरमा दुर्घटना भई विस्फोट हुँदा कम्तीमा ११६ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन् ।
सुमात्रा द्वीपको २० लाख जनसङ्ख्यायुक्त मेदान नगरको आवासीय क्षेत्रमा हर्कुलस सी–१३० नाम गरेको विमान खसेको, त्यहाँको भवन भग्नावशेषमा परिणत भएको तथा गाडीहरूमा आगो लागेको बताइएको छ ।
वायुसेनाका प्रमुख अगस सुप्रियान्ताले उक्त विमानमा ११३ व्यक्ति रहेको बताउनुभयो । उहाँले दुर्घटनमा कोही पनि बाँचेको छ भन्ने आफूलाई विश्वास नलागेको उल्लेख गर्नुभयो । उक्त विमानमा चालक दलका १२ सदस्य र १०१ यात्रु रहेको बताइएको छ ।
उहाँले आफू दुर्घटनास्थलबाट आएको र कोही पनि जीवित फेला नपरेको बताउनुभयो । उहाँले हालसम्म ४९ शव फेला परेको र त्यसलाई अस्पताल लगिएको बताउनुभयो ।
धेरै यात्रु सैनिकका परिवारका सदस्य तथा महिला भएको मेदान वायुसैनिक केन्द्रका एक प्रवक्ताले बताए । उक्त विमान सोही स्थानबाट प्रस्थान गरेको थियो । यस दुर्घटनामा एक बालकको मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीय खोज तथा उद्धार संस्थाले जमिनमा रहेका तीन व्यक्तिको पनि मृत्यु भएको जानकारी दिएको छ । एकाउन्न वष पुरानो उक्त विमान हालै तयार भएको आवासीय क्षेत्रमा खसेको थियो र त्यसले मसाज पार्लर तथा सानो होटेललाई क्षति पु¥याएको बताइएको छ ।
हाल उद्धार कार्य गरिएको छ र एम्बुलेन्सहरूले शव घटनास्थलबाट लगिरहेको देखिएको छ । प्रहरीले बलिरहेको भग्नावशेषलाई घेरा हालेको छ र त्यसको चारैतिर स्थानीय वासिन्दा भेला भएका छन् ।
मेदानका स्थानीय वासिन्दाले मध्यान्हमा उक्त विमान खसेको बताए । मेदानका प्रहरी प्रमुखले शव पनि भवन तथा विमानका भग्नावशेषका कारण क्षतविक्षत भएको देखिएको बताए ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई धैर्यधारण गर्न बल प्राप्त होस् भनी कामना गर्नुभयो ।
उक्त विमान उक्त वायुसैनिक केन्द्रबाट १२ः०८ मा उडेको थियो । यसको दुई मिनेटपछि विमान करिब पाँच किलोमिटर पर उक्त नगरमा खसेको थियो ।
विमान उडेको केही समयपछि विमानचालकले आफूलाई फिर्ता आउन दिन आग्रह गरेको सुप्रियान्ताले बताउनुभयो । उहाँले विमानको इन्जिनमा समस्या आएको हुनसक्ने बताउनुभयो ।
उहाँले विमान राम्रो अवस्थामा रहेको बताउनुभयो । उहाँले विमान मेदान आइपुग्नुअगाडि विभिन्न स्थानमा अवतरण भएको बताउनुभयो । रासस/एएफपी
















प्रतिक्रिया