३० आश्विन २०८३, शुक्रबार

बाँध भत्किएपछि चार गाउँ उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tatbandउदयपुर, १५ असार । उदयपुरको त्रियुया नगरपालिका–४ असारीस्थित बरुवा नदीको किनारमा निर्माण गरिएको पुरानो बाँध भत्किएर पुनः मर्मत हुन नसक्दा बरुवा नदी पारिको चार गाउँ उच्च जोखिममा परेको छ ।

बरुवा नदीले पुरानो बाँध कटान गरेपछि अहिले बरुवापारि क्षेत्रको असारी गाउँ, लक्ष्मीपुर, पोर्ताह तथा बरुवा ढिक क्षेत्रका गाउँ बस्ती उच्च जोखिममा परेको लक्ष्मीपुरका स्थानीयवासी नरेन्द्र चौलागार्इंले बताउनुभयो ।

चार–पाँच वर्षअघि निर्माण गरिएको बरुवा बाँध असारी सडकखण्डको बरुवा किनारमा भत्किएर मर्मत नहुँदा अहिले बरुवा नदी गाउँ क्षेत्रतर्फ कटान गर्दै प्रवेश गर्ने अवस्थामा रहेको स्थानीयवासी खड्ग राउतको भनाइ छ ।

बरुवा बाँध फुटेपछि बरुवा किनारमा अवस्थित जनप्रेमी निम्नमाध्यमिक विद्यालयसमेत जोखिममा परेको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । एक हप्ताअघि बरुवा नदीमा आएको निरन्तर बाढीको कारण पुरानो बाँधको बालुवाको ढिस्को र ढुङ्गाहरु नदीले बगाएर लगेपछि बाँध फुटेको असारी र लक्ष्मीपुरवासी बताउँछन् ।

बाँध फुटेपछि चार गाउँका झन्डै ५०० घरपरिवार उच्च जोखिममा परेको छ । स्थानीयवासी खड्ग राउत भन्नुहुन्छ, “बरुवा बाँध दुई वर्षअघि देखि नै फुट्दै आएको थियो, एक हप्ता अघिको वर्षाले नदीमा बाढी आउँदा पूरै बाँध फुट्यो, अब वर्षामा बाढी आएमा चार गाउँका दुई हजार जनसङ्ख्या र एक विद्यालयसमेत विस्थापित हुनुपर्ने अवस्था छ ।”

बरुवा बाँध फुटेर आफूहरुको गाउँघर जोखिममा पर्ने भएपछि तत्काल बाँधको पुनः मर्मत गर्नका लागि बजेटको व्यवस्था गरी माग्न त्रियुगा नगरपालिकालाई गुहार गरे पनि अहिले बाँध पुनः मर्मत हुन नसक्ने नगरपालिकाले बताएको राउतले बताउनुभयो ।

अर्का स्थानीयवासी कृष्ण पराजुली भन्नुहुन्छ, “बरुवा बाँध फुटेर गाउँगाउँमा प्रवेश गर्दैछ, ५०० घर गाउँलेको जीवन जोखिममा छ, तर स्थानीय प्रशासन तथा नगरपालिका मौन बसिरहेको छ ।” गत वर्षदेखि नै आफूहरुले बरुवा बाँध खतरा बन्दै गएपछि पटक–पटक स्थानीय निकायहरुको आफूहरुले ध्यानाकर्षण गराउँदै आएको तर मागको उचित सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् ।

यस विषयमा त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीको धारणा भने यस्तो रहेको छ, “बरुवा बाँध भत्किएर कटान सुरु हुने अवस्था छ भन्ने कुरा आफूहरु कहाँ गुनासो आएको छ, यसका लागि नगरपालिकाको प्राविधिक टोली सम्बन्धित स्थानमा अध्ययन गर्न जाँदैछ ।”
अहिले आवको अन्त्य भइसकेको कारण बजेट व्यवस्थापन गर्न सकिने अवस्था नरहेको र स्थानीयवासीले पनि प्रतिघर केही रकम सङ्कलन गरे केही रकम बाँध मर्मत गर्न नगरपालिकाले पनि सहयोग गर्ने कार्यकारी नगर अधिकृत कार्कीले बताउनुभयो ।

गाईघाटस्थित असारी क्षेत्रको बरुवा किनारमा स्थायी बाँध नहुँदा बरुवा नदीले प्रत्येक वर्ष असारी तथा लक्ष्मीपुर क्षेत्रको नम्बरी जग्गाहरु कटान गर्दै आएको छ । स्थानीयवासी समुद्री चौधरीका अनुसार २०२९ सालदेखि हालसम्ममा सम्बन्धित क्षेत्रमा बरुवा नदीले ५०० बिगाहाभन्दा बढी नम्बरी जग्गा कटान गरिसकेको छ । बरुवा नदीले लक्ष्मीपुर, असारी पोर्ताह क्षेत्रको झन्डै सात किलोमिटर लम्बाइ क्षेत्रसम्म जग्गा कटान गर्दै आएको स्थानीयवासी बताउँछन् । समयमा नै स्थानीय निकाय तथा सम्बन्धित निकायको उचित ध्यान नगए कुनै पनि बेला वर्षाको कारण नदीमा आएको बाढीले ठूलै भौतिक र मानवीय क्षति हुने अवस्था रहेको स्थानीयवासी बताउँछन् । रासस