४ कार्तिक २०८३, बुधबार

छात्रवृत्तिको कोटामा भागबन्डा, अर्थ मन्त्रालयका कर्मचारीको हालिमुहाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं, १५ असार । सरकारले अध्यागमन विभागका कर्मचारीको क्षमता अभिवृद्धिका लागि चीन सरकारले पठाएको छात्रवृत्ति कोटा विभिन्न मन्त्रालयलाई भागबन्डा लगाएको छ।

मुख्यसचिव लीलामणि पौडेल अध्यक्ष रहेको छात्रवृत्ति समितिले अध्यागमनका कर्मचारीलाई बेवास्ता गर्दै अर्थ मन्त्रालय वा अन्तर्गतलाई ८, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतलाई ४, प्रधानमन्त्री कार्यालयलाई २ र सामान्य प्रशासन मन्त्रालयलाई एउटा कोटा बाँडेको हो।

समितिले बाँकी १० वटा कोटा गृह मन्त्रालय वा अन्तर्गतका कर्मचारीका लागि लागि छुट्ट्याएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

समितिले अध्यागमन विभागलाई नछुट्ट्याई माउ संस्था गृह मन्त्रालय वा अन्तर्गतलाई भन्दै १० वटा कोटा दिएको हो।

चीन सरकारले अध्यागमनका २५ जना कर्मचारीलाई तालिममा पठाइदिनु भन्दै नेपाल सरकारलाई पत्र पठाएको थियो।

चीन सरकारले पठाएको उक्त पत्रमा अन्य कुनै मन्त्रालयका कर्मचारीलाई तालिमका लागि निमन्त्रणा गरेको छैन।

पत्रमा अध्यागमनका कर्मचारीलाई नै भनेर तोकिएको स्रोतले बतायो। सरकारले निमन्त्रणा नै नभएका मन्त्रालयका कर्मचारीलाई समेत अध्यागमनको तालिममा चीन पठाउन लागेको हो।

सरकारको यस्तो निर्णयबाट अध्यागमनका कर्मचारी आक्रोशित बनेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतले भने, ‘वैशाख १२ को भूकम्पपछि काम गर्न दिनरात भनिएन। दुस्ख गरेर काम गरियो तर तालिमको अवसर भने अन्य मन्त्रालयका कर्मचारीले पाए।’

समितिले निमन्त्रणा नै नभएका मन्त्रालयका कर्मचारीका लागि पनि कोटा छुट्ट्याइदिएको हो।

मुख्यसचिव एवं छात्रवृत्ति समितिका अध्यक्ष पौडेलले अध्यागमनका कर्मचारी दुईदुई वर्षमा सरुवा हुने भएकाले अन्य मन्त्रालयका कर्मचारीलाई पनि अध्यागमन सम्बन्धमा निपुर्ण बनाउन तालिममा पठाउन लागिएको बताए।