
काठमाडौं, ४ असोज । काठमाडौंमा दशैंको घटस्थापना अघि नै पथान्तरण हुने भएको छ । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
दशैं अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिनुभएको छ । सोहीअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ ।’ सोही योजनाअनुसार अहिले काठमाडौंमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मतसम्भार गर्ने काम भइरहेको छ । वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौं उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।
काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।








प्रतिक्रिया