दमक १४ असार । नेकपा एमाले क्षेत्र नम्वर ७ झापाले आज ४ सय ७ बोरा चामल भूकम्प पीडितलाई दिन रामेछापको मन्थली पठाएको छ ।
दमक चोकमा एक कार्यक्रमको आयोजना गरेर एमाले क्षेत्रीय कमिटीले ट्रकमा चामल पठाएको हो । गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परी घरवार विहिन भएकाहरुलाई राहत सामग्री क्षेत्रीय कमिटी अध्यक्ष नेत्र दाहालको नेतृत्वको ४ सदस्यीय टोलीले भोली सम्म मन्थली पुराउने एमालेले जनाएको छ ।
मन्थलीको वडानम्वर २ का बासिन्दालाई पार्टी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा चामल बितरण गर्ने क्षेत्रीय अध्यक्ष दाहालले बताउनुभयो । तोपगाछी गाउँ कमिटीले २ सय ५३ बोरा चामल संकलन गरेर पठाएको छ । यो मुलुकै सबै भन्दा बढी चामल संकलन गरेर पठाउने गाउँ कमिटी भएको एमालेको दावी छ ।
दमक १ को वडाकमिटीले ७२ बोरा ,धरमपुर गाउँ कमिटीले ५६ बोरा र दमक ४ को वडाकमिटीले २६ बोरा चामल मन्थली पठाएको छ । एमाले केन्द्रिय कमिटी मार्फत क्षेत्र नम्वर ७ झापाले प्रत्येक पार्टी सदस्य १ सय रुपैयाको दरले राहत रकम संकलन गरेर २ लाख रुपैया केही साता अघि पठाएको जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज होम थापाले बताउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्कीले राहत, उद्धार र सहयोगमा एमालेले अहम भूमिका खेलेको बताउँदै पुनर्निर्माणका काममा सहयोग गर्न आग्रह गर्नुभयो । असारको अन्ततिर पुन: एक ट्रक चामल पठाउने एमालले जनाएको छ ।
















प्रतिक्रिया