
काठमाडौं, २५ भदौ । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रममार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा बीमा कम्पनीका सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का अन्य पधाधिकारीको उपस्थिति रहेको थियो ।
सहमतिअनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थालाई ५ लाख रुपैयाँ रकम प्रदान गर्नेछ । त्यस रकम मध्ये २.५ लाख रुपैयाँ शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबहरुमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरुमा सञ्चालन हुने टिच कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताउनुभयो । साथै उहाँले “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रममार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरुमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।















प्रतिक्रिया