२३ कार्तिक २०८३, सोमबार

देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक : महासचिव पोखरेल

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने बताउनुभएको छ ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल नेपालीले नै बनाउने हो भन्ने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताउनुभयो ।

‘कुनै पनि देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन ।’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले यो देशमा राणा शासनन अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराउनुभयो । अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गर्नुभयो । देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताउनुभयो । अब साना र धेरै राजनीतिक दल होइन मुलुकलाई बलियो र समृद्ध बनाउन अब बलिया राजनीतिक शक्ति आवश्यक परेको महासचिव पोखरेलको धारणा छ ।

‘यो मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एका मात्र पार्टी नेकपा एमाले हो ।’ उहाँले भन्नुभयो ।

देश निर्माणको लागि स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । एउटा अनुशासित पार्टीले मात्र यो काम गर्न सक्ने भन्दै त्यो काम एमालेले मात्र गर्न सक्ने उहाँको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेताहरू मध्ये सबैभन्दा अध्ययनशील र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको पोखरेलले दाबी गर्नुभयो । ‘हामी उहाँको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षाका साथ अघि बढ्न चाहन्छौँ ।’ पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु मेरो देश भन्ने सङ्कल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । यसो भयो भने समृद्ध नेपाल बनाउन सकिने उहाँको धारणा छ ।

कार्यक्रममा ३ सय जना नवयुवा एमालेमा प्रवेश गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।