
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुने बताउनुभएको छ । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उहाँको भनाइ थियो ।
मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘वीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औंल्याउनुभयो ।
‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा वीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ ।’ उहाँले भन्नुभयो ।
सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समयअनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गर्नुभयो ।
‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गार्यो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धती र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलालगायतले वीपीको विचार र आजको सन्दर्भमाथि धारणा राख्नुभएको थियो ।












प्रतिक्रिया