
काठमाडौं, २४ भदौ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान हुनुभएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा हुनुभएको छ । सोमबार केसी कानुनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा हुनुभएको हो ।
उहाँले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा हुनुभएको हो ।
फौजदारी अपराध संहिता २०७४ अनुसार एक वर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ ।
किर्ते मुद्दामा दोषी ठहर हुनुभएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएको थियो ।
साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उहाँ त्यतिबेलादेखि नै फरारको सूचीमा हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित हुनुभएको थियो ।









प्रतिक्रिया