काठमाडौं, १४ असार । मुलुकमा प्राकृतिक प्रकोपले विनाश गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले ६९ औँ जन्मदिन नमनाउने निर्णय गरेका छन् ।
उनले मुलुक पीडामा रहेकोमा दुःखसमेत व्यक्त गरेको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
पूर्वराजाको निजी सचिवालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार राष्ट्रिय विपत्तिको घडीमा जन्मदिन मनाउन नसक्ने जनाएका हुन् ।
यसअघि पूर्वराजाले निर्मलनिवासमा प्रत्येक वर्ष धुमधामसँग जन्मदिन मनाउने गरेका थिए । यसपटक निर्मल निवासमा कुनै पनि औपचारिक कार्यक्रम हुने छैनन् ।
‘राष्ट्र विपत्को पीडाभावलाई आत्मसात् गरी मैले यो वर्ष मेरो ६९ औँ जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय लिएको छु’, पूर्वराजाले भनेका छन्, ‘मेरो जन्मदिनलाई सदा उत्सवमय र मंगलमय बनाउन खोज्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई यो बेला समन्वय, सेवा र सत्कार्यका निम्ति अघि बढ्न आग्रह गर्छु ।’
‘प्राकृतिक विनाशकारी दुर्दशा भोग्नुपरेको यस्तो अवस्थामा निश्चय पनि हाम्रा निम्ति साह्रै नै मर्म र दर्दको सन्दर्भ छ’, उनले भनेका छन् ।
पूर्वराजा शाहले विपत्तिको घडीमा सबै मिलेर नेपाल र नेपालीको पुनःसंरचना तथा नवसिर्जनातर्फ सबैका सहयोगी हात अघि बढून् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन् ।
पूर्वराजाले हिमानी ट्रस्टमार्फत भूकम्पपीडितलाई राहत वितरण गर्दै आएका छन् ।
भूकम्पबाट प्रभावित विभिन्न जिल्लाका पीडितले ट्रस्टबाट राहत पाइरहेका छन् ।















प्रतिक्रिया