काठमाडौं, १४ असार । सत्र असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा उम्मेदवारहरूले मत आफ्नो पक्षमा पार्न तीव्र प्रचारप्रसारमा जुटेका छन् ।
संघको निर्वाचनमा निर्वाचित हुन सहज हुने भन्दै उम्मेदवारहरूले संघका पूर्वअध्यक्षहरूको समर्थन जुटाउन तीव्र दौडधुप सुरु गरेको समाचार आजको सौर्य दैनिकले समाचार छापेको छ ।
पूर्वअध्यक्षहरूको समर्थनका कारण आफ्नो पल्ला भारी हुने भन्दै उम्मेदवारहरूले दौडधुप बढाएका हुन् ।
संघको निर्वाचनमा लोकतान्त्रि वैदेशिक रोजगार व्यवसायी फोरमले विमल ढकालको नेतृत्व सार्वजनिक गरेको छ भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले सरोज पोखरेलेको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरेको छ ।
यस्तै, स्वतन्त्र भन्दै फोरमका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार किरणकिशोर घिमिरेको नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन् । फोरम नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने मञ्च नेकपा९एमाले०को जनवर्गीय संगठन हो ।
सम्बद्ध व्यवसायीका अनुसार संघको निर्वाचनमा विजयी हुनका लागि पूर्वअध्यक्षहरूको पनि उत्तिकै भूमिका आवश्यक पर्छ ।
त्यसका लागि सरोज पोखरेल समूहलाई तीनजना पूर्वअध्यक्षहरूको सहयोग रहेको छ । पूर्वअध्यक्ष त्रय महेन्द्र शेरचन, दानबहादुर तामाङ र एलपी सावाँ लिम्बूको सहयोगका साथै मञ्च सम्बद्ध व्यवसायीहरूको मत आउने दाबी छ ।
यस्तै विमल ढकाल समूहलाई पूर्वअध्यक्ष तिलक रानाभाट र फोरमको समर्थन रहेको बताइन्छ ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएका किरणकिशोर घिमिरेको समूहलाई प्रेम कटुवाल र संघका वर्तमान अध्यक्ष हंसराज वाग्ले समूहको सहयोग रहेको छ । घिमिरे स्रोतका अनुसार आपू स्वतन्त्र रहेका कारण स्वतन्त्र व्यवसायीहरूको मत आउनेमा आशावादी छन् ।
पछिल्लो समयमा वाग्ले संघको काम कारबाही छाडेर निर्वाचन प्रचार–प्रसारमा लागेको स्रोतको दाबी छ । पूर्वअध्यक्षहरूको साथका कारण पोखरेल समूह अगाडि रहेको विश्लेषण सुरु भएको छ । वाग्ले नै लागेका कारण घिमिरे पनि बलियो रहेको व्यवसायीहरूको दाबी छ ।
वैदेशिक रोजगार व्यवसायीहरूका विभिन्न संगठन छन्, त्यस्ता संगठनको मतलाई पनि व्यवसायीहरूले आफ्नो पक्कडमा पार्ने भएका छन् । एमाओवादी समर्थक व्यवसायीहरूको संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक संघमा आबद्ध ७० देखि ८० जना व्यवसायी रहेको बताइएको छ ।
संघले यसअघि मञ्चलाई सहयोग गर्ने भने पनि महासचिवमा कुरा नमिलेपछि मञ्चबाट बाहिरिएको छ । तथापि सैद्धान्तिक रूपमा अधिकांश मत पोखरेल समूहलाई जाने बताइन्छ ।
ललितपुर वैदेशिक रोजगार समाजमा ८२ मत छ । मञ्चबाट सचिवमा उम्मेदवारी दिएका राजेन्द्र भण्डारी तथा मञ्चकी उपाध्यक्ष सुवर्ण श्रेष्ठ समाजको सचिव भएका कारण अधिकांश मत पोखरेल समूहलाई आउने र केही मत बाझिने बताइन्छ ।
महाराजगञ्जदेखि बालाजुसम्म रहेका व्यवसायीहरूको संगठन वैदेशिक रोजगार एकता समाजमा सयभन्दा बढी मत रहेको बताइन्छ । समाजका अध्यक्ष हरि पाण्डे क्षेत्री पोखरेल समूहबाट द्वित्तीय उपाध्यक्षमा उम्मेदवारी दिएका कारण
अधिकांश मत पोखरेल समूहले तान्न सक्ने व्यवसायीको आँकलन छ ।
मेनपावर व्यवसायीहरूको अर्को पक्कड क्षेत्र हो, ‘मेनपावर बजार’, बजारमा लगभग सय मत रहेको स्रोतको भनाइ छ ।
सिनामंगल (मेनपावर बजार) क्षेत्रका चर्चित व्यवसायीका रूपमा चिनिएका र उक्त क्षेत्रमा व्यवसायी गर्दै आएका कारण घिमिरेले उक्त क्षेत्रको मत आफ्नो पक्कडमा राख्ने बताइन्छ । यस्तै, वैदेशिक रोजगार तमुधिमा ४० देखि ४२ मत रहेको बताइन्छ ।
तमुधिका अध्यक्ष शमशेर गुरुङ घिमिरे समूहबाट प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएपछि तमुधिको सबै मत घिमिरे समूहमा जानेमा व्यवसायीहरू नै दोधारमा छन् ।
जानकार स्रोतका अनुसार तमुधि जातिगत संगठन भएका कारण यसको मत व्यक्ति विषेशमा केन्द्रित रहने बताइएको छ । सम्बद्ध स्रोतका अनुसार फोरममा आबद्ध (लेबी तिर्ने) दुई सय ३५ र एमाले संम्बद्ध मञ्चलाई (लेबी तिर्ने) दुई सय पाँचजना सदस्य रहेका छन् । बाँकी व्यवसायी न्युटल देखिएका छन् ।
पछिल्लो समयमा फोरम र घिमिरे समूहको आन्तरिक कलहका कारण फोरमसम्बद्ध व्यवसायीहरूको मत पनि पोखरेल समूहमा जाने चर्चा सुरु भएको छ ।















प्रतिक्रिया