बनेपा, २५ जेठ । नेकपा (एमाले)को नवौँ महाधिवेशन नजिकिँदै गर्दा एमाले काभ्रेमा चरम विवाद देखिएको छ ।
नवौं महाधिवेशनका अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संसदीय दलका नेता केपी शर्मा ओलीपक्षधरबीचको विवादले कार्यालय प्रवेशमै रोक लगाउने सम्मको घटना भएको हो ।
पार्टीेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर जिल्लास्तरीय नेतालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि एमाले काभ्रेभित्रको विवाद बाहिर आएको छ । अध्यक्ष गोकुल बास्कोटा ओली निकट हुन् भने सचिव टोकबहादुर वाइबा माधव नेपाल पक्षका हुन् । उनीहरुबीचकै विवादका कारण कार्यकर्ताहरु समेत विभाजित भएका छन् ।
ओली पक्षधर जिल्लास्तरीय नेताले कार्यालयमा नयाँ ताला लगाइदिएपछि आइतबार नेपाल पक्षधर जिल्लास्तरीय नेताले मदन भण्डारी अध्ययन केन्द्रको नामबाट कार्यालय बाहिर नै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । एमाले काभ्रेका सचिव टोकबहादुर वाइबाले कम्युनिस्ट पार्टीमा विचारको बहस पेचिलो हुने भन्दै विचार समूहको बहसलाई तल्लो कार्यकर्तासम्म पु¥याउन खोजिएको बताउनुभयो ।
उहाँले विचारको नेतृत्व वरिष्ठ नेता नेपालले गर्ने जिकिर गर्दै “जसको नीति उसको नेतृत्व हुनुपर्छ” भन्नुभयो । सचिव वाइबाले भन्नुभयो, “मुलुकमा गणतन्त्र आइसकेको छ तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्धतिकोसमेत विकास भएको छैन ।”
मदन भण्डारी अध्ययन केन्द्रका अध्यक्ष तथा एमाले काभ्रे जिल्ला कमिटीका सदस्य कृष्ण तिमल्सिनाले कार्यालयमा नियोजित रुपले ताला परिवर्तन गरेर निषेध गर्न खोजिएको आरोप लगाउनुभयो ।
नेपाल पक्षधर जिल्लास्तरीय नेताले जेठ ३१ गते बनेपामा भेला आयोजना गरेका छन् । सो भेलालाई वरिष्ठ नेता नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
















प्रतिक्रिया