१० श्रावण २०८३, आइतबार

‘तीनै तहका सरकारले साना उद्योगलाई प्राथमिकता दिनुपर्छ’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । तीनै तहका सरकारले लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आइतबार नेपाल घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको ‘नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगहरुको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत बन्ने भएकाले यी क्षेत्रहरुको समुचित विकासका लागि तीनवटै तहका सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

यसैगरी, कार्यक्रममा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले घर अवस्थित उद्यमका समस्या र समाधानमा तीन तहका सरकारले गर्नुपर्ने कार्यसँगै घरैलाई नै कार्यथलो बनाई मध्यस्थकर्ता र बजारका लागि वस्तु तथा सेवाहरु उत्पादन गर्ने उद्यमीहरुले पछिल्लो समय भोग्नुपरेका समस्याका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिका क्रममा थपलियाले सामान्य जीवन जीउन पनि कठिनाई भोगेका र बजारसम्म पहुँच नभएका महिला उत्पादकहरुको उद्यमशीलता विकास तथा जीविकोपार्जन प्रवर्द्धनमा जोड दिनुभयो ।

कार्यक्रममा घरैलाई नै कार्यथलो बनाई वस्तु तथा सेवाहरु उत्पादन गर्ने ललितपुर बुङमतिकी शान्ता शाक्यले आफूले विगत ३० वर्षदेखि यो पेशा अपनाए पनि राज्यका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ पूर्वअध्यक्ष श्यामप्रसाद गिरीले मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने क्षमता भएका लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको विकास र विस्तारका लागि राज्यका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा लघु उद्यमका समस्या उजागर गर्दै समाधानमा तीनै तहका सरकारको भूमिका र गर्नुपर्ने दायित्वका विषयमा प्रा।डा। राजकुमार भट्टराई र डा। रविन्द्र कुमार न्यौपानेले छुट्टाछुट्टै प्रस्तुति राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने लघु, घरेलु साना तथा घर अवस्थित उद्योगलाई तीनै तहका सरकाले उत्पादनमा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण र बजारसम्मको पहुँचमा जोड दिनुपर्ने बताएका थिए ।