वसन्त विश्वकर्मा /अनिल शाही
बाजुरा, २५ जेठ । बाजुरामा शनिवार आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने घर बगाउँदा लाखौको क्षति भएको छ ।
गएराति १० बजेतिर आएको बाढीले कोल्टी विमानस्थल क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको हो । स्थानीय करविर कडाराको घर बगाउँदा घरमा रहेका ५८ बर्षका गोरे बुढा, उनका छोरा ५ बर्षका दिनेस बुढा र पाहुना आएका कोल्टी गाविस ८ का ४० बर्षका कर बुढाको मृत्यु भएको छ । घरमै च्यापिएकी बिमला रोकायाको भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
राति परेको अत्याधिक पानी सँगै आएको बाढीले सो क्षेत्रका दर्जनौ घर र पसलमा बाढी पस्दा लाखौँको क्षति भएको छ । दर्जनौ बस्ती बगाएको छ भने कोल्टी बजारका बर्म शाही, कालीबहादुर शाही, नबराज शाही लगायतका पाँच वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने सातवटा घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
बाढीले कोल्टी बजारको प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनाथ निमावि, देवलकाँडा मावि विद्यालय भवन बगाउनुका साथै बजार र आसपास गाउँको खानेपानीको मुहान बगाउँदा खानेपानी हाहाकार भएको स्थानीयले बताएका छन् । कोल्टी आसपास क्षेत्रमा पनि बाढी पहिरोले पदमलाल भारतीको घर वगाउनुका तीनवटा गाई गोरु र दुर्इ वटा खच्चड मरेका छन् ।
उद्धार टोलीले उद्धार जारी राखेको छ भने प्रमुख जिल्ला अधिकारी धुवराज जोशी सहितको टोली कोल्टी हिँडिसकेको छ ।
२०६९ जेष्ठ १८ गते यही क्षेत्रमा बाढी पहिरोले ५ जनाको ज्यान गएको थियो भने ९ जना घाइते भएका थिए ।
















प्रतिक्रिया