
रौतहट २५ साउन । रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।
ईशनाथ-७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिमबीच साम्प्रदायिक सद्भाव नबिग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईंले स्वयं नेतृत्व गरेर बिशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन ईशनाथ-७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्। अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भईरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको सिडियो रेग्मीले जानकारी दिनुभयो ।
गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा बिभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदायबीच झडपको अवस्था उत्पन हुने गर्दछ।
विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिनुभयो । गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।












प्रतिक्रिया