३० आश्विन २०८३, शुक्रबार

‘असहज जीवनलाई सहज बनाउन हास्य व्यङ्ग्यको भूमिका महत्वपूर्ण छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pragya-bhavan

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य समालोचना र निबन्ध विभागको प्रमुख आयोजना तथा सिस्नुपानी नेपालको सहआयोजनामा ‘अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका विषयक विचार गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा निवर्तमान कुलपति बैरागी काइँलाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै बैशाख १२ र २९ गतेको भूकम्पले ल्याएको धक्काले मानव जीवनमा पारेको अवरोधलाई चिर्न प्रयास गर्नुपर्ने बताउनुभयो । ‘असहज जीवनलाई सहज बनाई बाँच्न सिकाउने कला हास्यव्यङ्ग्य साहित्य हो’ काइँलाले भन्नुभयो ।

समारोहमा विशेष अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बैशाख १२ को भूकम्पले बिगारेको हाम्रो मनोभावलाई ब्युझाँउन साहित्यको शक्तिले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

समारोहमा प्रा.डा. गोविन्द राज भट्टराईले ‘अमिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका’ नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा.डा. माधव पोखरेलले समीक्षा गर्दै हास्यव्यङ्ग्यले मनोचिकित्साको काम गर्ने बताउनुभयो ।

अर्का कार्यपत्र प्रस्तोता लक्ष्मण गाम्नागेले ‘भयबाट मुक्तिका लागि हास्य व्यङ्ग्यको मलम पट्टी’ नामक कार्यपत्र प्रस्तुत गर्दै भूकम्प पीडित क्षेत्रमा हास्यव्यङ्ग्य कार्यक्रम मार्फत त्रासबाट मानिसलाई मुक्त हुन मद्दत पु¥याएको चर्चा गर्नुभयो । गाम्नागेको कार्यपत्रमाथि हास्यकलाकार शैलेन्द्र सिंखडा र मनोज गजुरेलले समीक्षा गर्दै आ–आफ्ना हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।

प्राज्ञ तथा कार्यक्रम संयोजक ज्ञानु पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै हास्यव्यङ्ग्यका माध्यमबाट भूकम्प पीडितहरूलाई मनोचिकित्सा दिने स्रष्टाहरूलाई आदर र सम्मान गर्न पनि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

गोष्ठीमा सहभागी सबैलाई सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई, प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू लगायत विभिन्न विशिष्ट विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरूले आ–आफ्ना कोणबाट जिज्ञासा राख्नु भएको थियो । जिज्ञासा राख्नेहरूमा रोचक घिमिरे, मेदिनी कुमार केवल, डा. यम बहादुर क्षत्री प्रा.डा. सुषमा आचार्य, प्रा.डा.मोहन लोहनी, होमप्रसाद गौतम, लक्ष्मी एडी आदि हुनुहुन्थ्यो ।