८ असार २०८३, सोमबार

भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किनुभएको छ र उहाँ लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो  । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।

भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गर्नुभएको थियो। जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाउनुभएको छ ।

आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरु अचम्ममा परेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छोडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लड्नभएको थियो । तर, उहाँले विगत ११ वर्षदेखि सत्तामा रहनुभएका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सक्नुभएन ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भन्नुभयो, ‘परिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौँ ।’

मादुरोले अगाडी भन्नुभयो, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ ।’

अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताउनुभएको छ । ब्लिन्केनले भन्नुभयो, ‘परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौँ । घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।’

भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुसी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरुलाई ठूलो झट्का लागेको छ ।