२ कार्तिक २०८३, सोमबार

दीपक मनाङेको विवादास्पद व्यवहार: कार्यकक्षमै हाफ गन्जी, रक्सीको प्रस्ताव

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ साउन । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अहिले प्रदेश सरकारमा छैटौं पटक मन्त्री छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधारमन्त्री हुन् ।

विवादास्पद व्यवहारले चर्चामा आइराख्ने मनाङेको एक तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ ।

गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका मनाङेको राजनीतिक यात्रा र व्यवहार विवादास्पद छ । उनको पछिल्लो समय मन्त्रालय कार्यकक्षमै हाफ गन्जी लगाएर बसेको तस्वीर भाइरल भएको हो ।

मन्त्री मनाङेले हालै मन्त्रालयमा राइड सेयरिङ समूहसँगको बैठकमा रक्सी खाने प्रस्ताव गरेकोसमेत चर्चा छ । मन्त्रीको यस्तो व्यवहारले सरकारी निर्णय प्रक्रियाको गम्भीरतामा प्रश्न उठाएको छ ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेडको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे । यातायात व्यवसायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उहाँले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

यातायात क्षेत्रको संवेदनशील मुद्दालाई हल्का तरिकाले लिने मन्त्री मनाङेको दृष्टिकोणले नीति निर्माणमा उनको योग्यता र गम्भीरतामाथि शंका उत्पन्न गराएको सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

मनाङेको निरन्तर विवादास्पद व्यवहार र त्यसको बावजुद उनलाई पटक-पटक मन्त्री बनाइँनुले गण्डकी प्रदेश सरकारको नैतिक मूल्य र प्राथमिकतामाथि प्रश्न उठाएको छ ।