४ कार्तिक २०८३, बुधबार

अमेरिकामा समस्या झेलीरहेका नेपालीलाई यसरी राहत मिल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US_TPSन्युयोर्क, १० असार । अमेरिकामा कागजविहीन बसिरहेका नेपालीलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) कानुनी राहत मिल्ने निश्चित भएको छ।

गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा परिवार गुमाएका, बेपत्ता भएका, घर भत्किएर क्षतिग्रस्त भएका व्यक्तिले पनि टीपीएस सेवा नहुँदा घर फर्कन नपाउने, अत्यावश्यक रकमसमेत पठाउन नपाउने समस्या झेलिरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपालले टीपीएस पाउनुपर्ने भन्दै भूकम्पपछि अमेरिकामा रहेका नेपालीले निरन्तर लबी गरिरहेका थिए। नेपाल सरकारले पनि टीपीएस दिलाइदिन अमेरिकी सरकारसँग अनुरोध गरेको थियो।

नेपाल सरकारको अनुरोध स्वीकार गर्दै स्टेट डिपार्टमेन्टले सिफारिस गरी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा पत्र पठाएको थियो।

यसैबीच गत मंगलबार न्युयोर्कका कंग्रेस सिनेटर सुमर र कनेक्टिकटका सिनेटर ब्लुमेन्थलले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाललाई टीपीएस प्राप्त भएको जानकारी दिएका छन्।

तर डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको हालसम्म औपचारिक घोषणा आइसकेको छैन।

‘सिनेटरहरूको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक भएपछि टीपीएस पाउने पक्कापक्कीजस्तै भएको छ’, न्युयोर्कमा बसेर नेपालीको कानुनी समस्यामा काम गरिरहेका क्षेत्री एन्ड एसोसिएट्सका एटर्नी वासुदेव फुलाराले भने, ‘यससम्बन्धी अन्तिम निर्णय गर्ने होमल्यान्ड सेक्युरिटीबाट छिट्टै आधिकारिक घोषणा हुनेछ।’

उनका अनुसार आधिकारिक घोषणा आइनसक्दै टीपीएस आयो भन्ने हल्ला सुनेपछि यसबारे सोधपुछ गर्न नेपालीहरूको फोन आउन थालेको छ।

टीपीएस लागू भएमा विभिन्नखाले समस्या झेलिरहेका १० देखि २० हजार नेपालीले राहत पाउनेछन्।

कानुनी हैसियत जेसुकै भए पनि अस्थायी रूपमा बसेका, पढ्ने समय र भिसाको मिति सकिएका विद्यार्थी, भिजिटर, कागजविहीन बसेका, देशनिकालाको खतरामा परेका, लामो समयदेखि आफ्नो मुलुक फर्कन नपाएकाले समेत केही समय कानुनी हैसियत प्राप्त गर्नेछन्।

टीपीएस भएमा सुरुमा ६ महिनादेखि १८ महिना कानुनी हैसियत प्राप्त हुनेछ।

पहिलो टीपीएस स्टाटस सकियो र दोस्रो रजिस्ट्रेसन वा नवीकरण गर्ने समय पनि अमेरिकामा मिलेन भने टीपीएस पाउने व्यक्ति पहिलाकै अवस्थामा फर्किनेछ।

टीपीएस लागू भएमा डिपार्टमेन्ट अफ होम सेक्युरिटीले पक्राउ गरी देशनिकाला नगर्ने, ट्राभल डकुमेन्ट प्रदान गर्ने, नेपालमा भएका परिवारलाई पैसा पठाउन मिल्ने, नेपाल आवतजावत गर्न मिल्ने र यहीं बसिरहेकाले पनि कानुनी हैसियतमा काम गर्न पाइनेलगायत सुविधा पाइनेछ।

हालसम्म अनडकुमेन्टेड बसिरहेका नेपालीलाई टेम्पोररी प्रोटेक्टेड स्टाटसअन्तर्गत नेपाल फर्किएर पुनस् अमेरिका आउन पाउने गरी कानुनी हैसियत प्राप्त हुनेछ।

नेपालका लागि टीपीएस हुनुपर्छ भन्दै गत अप्रिल २७ मा यससम्बन्धी विधयेक हाउसमा ल्याइएको थियो।

यसलाई सकारात्मक भन्दै ५३ जना कंग्रेस मेनको समर्थन जुटिसकेको थियो।

होमल्यान्ड सिक्युरिटीले कुनै मुलुक वातावरणीय र प्राकृतिक विपत्तिमा परेमा त्यहाँका नागरिकलाई आफ्नो देश फर्कने अवस्था छैन भने उक्त देशलाई टीपीएसको लिस्टमा राखी कानुनी राहत प्रदान गर्न सक्छ।

हालसम्म हाइटीलगायत ११ देशलाई मात्र यो सुविधा प्राप्त छ। अहिलेको अवस्थामा नेपाललाई पनि प्राप्त गराउन लागिपरेको फुलाराले जानकारी दिए।