काठमाडौं, १० असार । सरकारले नक्सा पास भइसकेका घर बनाउन खुला गरेको छ । तर, भवन निर्माणका क्रममा नक्सा, स्वीकृति प्रमाणपत्रसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख गोपीकृष्ण खनालले नक्सा पास भएका घर निर्माण गर्न खुला गरिएको जानकारी दिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । तर, नक्सा पास तोकिएको मापदण्ड पूरा भएको हुनुपर्ने उनको भनाइ छ ।
‘नक्सा पास गरिसकेकालाई भवन निर्माण गर्न खुला गरिएको हो । तर, भवनको नक्सा पास नियमबमोजिम हुनैपर्छ,’ खनालले भने, ‘नयाँ भवनको नक्सा पास भने खुला गरिएको छैन ।’ भूकम्पपछि ४ जेठबाट सरकारले दुई महिनाका लागि घर निर्माण गर्न रोक लगाएको थियो ।
सरकारले तीन तलाभन्दा अग्लो घर बनाउन नक्सा उल्लेख भएको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने नियम बनाएको छ । नवनिर्मित भवन भूकम्प प्रतिरोधात्मक बनाउन मन्त्रिपरिषद्को निर्णयबाट यस्तो नियम बनाइएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्णय कार्यान्वयन गर्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा परिपत्र गरिसकेको छ ।
‘तीनतलेभन्दा अग्लो घर बनाउन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ,’ मन्त्रालयका नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख खनालले भने, ‘होर्डिङ बोर्डमा निर्माण हुने घरको सम्पूर्ण विवरण देखिने गरी उल्लेख भएको हुनुपर्नेछ ।’















प्रतिक्रिया