४ कार्तिक २०८३, बुधबार

कागज मिलाउँदै कुटीको जग्गा बिक्री गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १० असार । रत्नसागर कुटीका महन्थ वैकुण्ठदास वैष्णवले किर्ते कागज बनाएर ऐतिहासिक विहारकुण्डको करिब ६ बिघा जग्गा बिक्री गरेपछि अहिले उक्त क्षेत्र वैकुण्ठनगरका रूपमा चिनिन थालेको छ।

जनकपुर उपमहानगरपालिका-८, रामानन्दचोकबाट पश्चिममा रहेको महन्थले बेचेको ६ बिघा जग्गामा करिब तीन सय सर्वसाधारण बसेको बस्ती वैकुण्ठ नगरको नाम दिइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

जनकपुरको सबैभन्दा धनी मठका रूपमा चिनिने रत्नसागर कुटअन्तर्गत विहारकुण्ड पनि पर्छ। महन्थ वैकुण्ठदासले उक्त बस्ती बसाएका हुन्।

सर्वसाधारणको भनाइअनुसार विहारकुण्ड र रत्नसागर कुटीको जग्गा अवैध रूपमा रत्नसागर कुटीका वर्तमान महन्थ वैकुण्ठदासले आफ्ना गुरु रामप्रकाश दासको मृत्युपछि उनको नामबाट किर्ते कागज बनाई बिक्री गरेका हुन्।

‘वैकुण्ठदासले कसैको खुट्टाको औंलाको त कहिले कुनै सर्वसाधारणको औंठाको सहीछाप लगाएर मनखप (मन्दिरको जग्गा खेती गर्नका लागि लिजमा दिइने कागजात) कागज तयार पार्ने गरेको र अवैध रूपमा सस्तो दरमा सोही जमिन बिक्री गरेका हुन्’, अर्का मन्दिरका एक महन्थले भने।

जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले भने, ‘महन्थहरूलाई मन्दिर व्यवस्थापनका लागि सोअन्तर्गत रहेको जग्गा मनखपमा किसानलाई दिने र सोबापत आर्जन हुने कुत (धानचामल) बेचेर मन्दिर चलाउने अधिकारमात्र छ, पैसा लिएर जग्गा बेच्ने अधिकार छैन।’

मन्दिर र त्यसको सम्पत्ति सार्वजनिक भएकाले त्यसलाई व्यक्तिगत रूपमा बिक्री गर्दा कुनै पनि व्यक्ति सजायको भागीदार हुने हुनाले यस्ता भ्रष्ट महन्थलाई कारबाही गर्न सरकारले उचित कानुनी कदम चाल्नुपर्ने शर्माले बताए।