४ कार्तिक २०८३, बुधबार

शेरबहादुरले छाडेको डेरामा के गर्दैछन् उपेन्द्र र अशोक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghiya-Samajbadi-Forum-Neकाठमाडौं, १० असार । कुनै समय शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालय रहेको भवनमा आजकाल संघीय समाजवादी फोरम नेपालका नेताहरू बस्न थालेका छन् ।

धेरै वर्षअगाडि देउवाले छाडेको भवनमा उपेन्द्र यादव, अशोक राई र युवराज कार्कीलगायत नेता तथा कार्यकर्ताहरूले अड्डा जमाएर बसेको सौर्य दैनिकले समाचार छापेको छ ।

मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी र खस समावेशी राष्ट्रिय पार्टीबीच जेठ ३२ गते राजधानीमा एकीकरण भएसँगै ती दलका नेताहरू कार्यालयमा फाटफुट जाने गरेका छन् ।

पार्टी एकीकरण हुनअघिदेखि नै राई नेतृत्वको संघीय समाजवादी पार्टी भवनमा बस्दै आएको थियो । भवन खोज्न राईले समिति गठन गरेका थिए । सोही समितिले खोजेको भवनमा अहिले उपेन्द्र र युवराज थपिएका छन् ।

पार्टी एकीकरणपछि पनि सोही भवनलाई केन्द्रीय कार्यालयका रूपमा सञ्चालन गरिएको हो । भवनमा कोठाहरू रहे पनि कुन केन्द्रीय नेता कता बस्ने भनेर अझैँ टुंगो लागेको छैन ।

बस्ने स्थानको टुंगो नलागेपछि नेताहरू कार्यालय नजाने गरेको एक केन्द्रीय पदाधिकारीले गुनासो गरे । ‘बस्ने स्थानको व्यवस्था छैन ।
तीनवटा पार्टीका नेताहरू धेरै छन्,’ ती पदाधिकारीले भने, ‘धेरै पार्टीका धेरै नेता एउटै पार्टीमा आउँदाको पीडा हो यो ।’

सौर्य दैनिकले गरेको खोजीका क्रममा उपेन्द्र, अशोक र कार्की पार्टी कार्यालय खासै जाँदैनन् । उनीहरू पार्टी कार्यालयमा बिरलै आउने गरेको कार्यालयमा रहेका कर्मचारीहरूको भनाइ छ ।

करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको पहेँलो रंगको साढे दुई तलाको सो भवनमा बीसवटा कोठाहरू छन् । उक्त भवनका सम्पूर्ण कोठाहरू पार्टी कार्यालयका लागि नै प्रयोग भइरहेका छन् ।

‘पार्टीका सामान्य कार्यक्रम गर्न यो भवन पर्याप्त छ’, पार्टीका कार्यालयका सचिव प्रकाश अधिकारी भन्छन्, ‘ठूला आमसभाबाहेक अन्य कार्यक्रमहरू यही भवनमा हुँदै आइरहेका छन् ।’

संघीय समाजवादी फोरम नेपालले उक्त भवनको घरभाडा स्वरूप मासिक एक लाख बुझाउने गरेको छ । ‘घरभाडासहित मासिक कार्यालय खर्च डेढ लाखको हाराहारीमा हुने गरेको छ,’ कार्यालय सचिव अधिकारीले भने ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेससँग पार्टी फुटाएका देउवापछि पार्टी एकता गरी पुनः ललितपुरको सानेपास्थितमा कार्यालयमा डेरा सारेका थिए ।

देउवाले भवनबाट डेरा सारेको धेरै भइसक्यो । उनी पुरानै घरमा फर्किएका छन् । उक्त भवनमा संघीय समाजवादी फोरम नेपाल कहिलेसम्म बस्ने हो, हेर्न कालान्तरमा थाहा हुनेछ ।

जेठ ३२ गते कार्यकर्ता र शुभचिन्तकले भरिभराउ उक्त भवनमा बुधबार सौर्यका संवाददाताहरू पुग्दा सुनसान देखिन्थ्यो ।

पार्टी एकीकरण भएको डेढहप्ता बितिसक्दा पनि अझैँ पार्टी पदाधिकारीहरूको आधिकारिक कार्य विभाजन भने भइसकेको छैन । भवन र पार्टीका विषयमा जानकारी दिने आधिकारिक व्यक्तिहरूसमेत कार्यालयमा भेटिएनन् ।