काठमाडौँ, ९ असार । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने सर्वोच्च अदालतको फैसला अदालतको सीमाभन्दा बाहिरबाट आएको बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले पछिल्लो समय अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–“राजनीतिक, सामाजिक जीवन सङ्घर्षमय भएजस्तै संविधानसभाको जीवन पनि सङ्घर्षमय बन्दै गएको छ, अगाडि बढ्न खोज्दा अहिले अवरोध आएको छ ।”
उहाँले संविधान निर्माण प्रक्रिया कानुनसम्मत ढङ्गले अगाडि बढिरहेको बताउँदै सर्वोच्चले त्यसमा हस्तक्षेप गर्न नपाउने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– “अन्तरिम संविधान र संविधानसभा नियमावलीमा नै कसको अधिकार के हो भन्ने प्रष्ट छ, सोही अधिकारअन्तर्गत नै १६ बुँदे सहमतिमार्फत संविधान निर्माणको कार्य अगाडि बढ्छ ।”
अर्को प्रसङ्गमा नेता नेपालले स्थानीय निकायको निर्वाचन हुन नसक्दा भूकम्पपछि राहत तथा पुनःस्थापनामा अप्ठ्यारो परेको बताउनुभयो ।
आफूले भूकम्पअघि पटकपटक प्रधानमन्त्रीलाई स्थानीय निकायको निर्वाचन घोषणा गर्नुहोस् भनेर आग्रह गरेको जानकारी दिँदै निर्वाचन हुँदा सङ्घीयतामा कुनै समस्या नपर्ने जिकिर गर्नुभयो ।












प्रतिक्रिया