२४ कार्तिक २०८३, मंगलबार

एमाले मकवानपुरको जनसंगठन समन्वय संयन्त्रले बनायो वार्षिक कार्ययोजना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ असार । नेकपा (एमाले) मकवानपुरको जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले संयन्त्रको वार्षिक कार्ययोजना अनुमोदन गर्नुका साथै जनसंगठन परिचालनका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको हो ।

साउन महिनाभित्र सबै जनसंगठनको वार्षिक कार्ययोजना निर्माण, साउन ६ गते पार्टी जिल्ला कमिटीले आयोजना गर्ने पुष्पलाल स्मृति दिवस सफल बनाउन सबै जनसंगठनको उपस्थिति, जिल्ला विपद् व्यवस्थापन तथा स्वस्यमसेवक विभागसँग समन्वयमा विपद्मा उद्धार र राहतलगायत कार्यमा जनसंगठनहरु परिचालित हुनका लागि बैठकले निर्देशित गरेको छ ।

त्यसैगरी, पार्टी जिल्ला कमिटीको सर्कुलरअनुसार असोज मसान्तसम्म अवधि पुगेका सबै जनसंगठनको जिल्ला एवम् पालिका तहसम्म अधिवेशन गर्नसमेत बैठकले निर्देशित गरेको छ ।

बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले जनसंगठनहरुले वर्गीय एवम् सामुदायिक मुद्धाहरु सम्बोधन गर्दै संगठन विस्तार र पार्टी निर्माणको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, केन्द्रीय सदस्य रामेश्वर रानाले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका-२०७८ ले संयन्त्रमार्फत जनसंगठन परिचालनको स्पष्ट व्यवस्था गरेकोले जनसंगठनहरु सोही अनुसार क्रियाशील हुनुपर्ने बताउनुभयो ।

यसैगरी, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीको मिसन-२०८४ लाई सफल बनाउन जनसंगठनको महत्वपूर्ण भूमिका हुने भएकाले योजनाबद्ध रुपमा जनसंगठन परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।

संयन्त्रका संयोजक सन्तोष पौडेलको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य न्यौपानेको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा पार्टी जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्टलगायतकाले बोल्नुभएको थियो भने संयन्त्रका सह-संयोजक मिलन पाठक, विपद् व्यवस्थापन तथा स्वयम्सेवक विभाग प्रमुख शिवहरि दाहालसहित १५ वटा जनसंगठनको इन्चार्ज, सहइन्चार्ज तथा जिल्ल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।