१ कार्तिक २०८३, आइतबार

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिनुभयो । उहाँले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताउनुभयो । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताउनुभयो ।

बैंकका सिइओ ढुंगानाले नबिल बैंक सधै मानव सेवाका कार्यहरूमा तयार रहेको बताउनुभयो । उहाँले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताउनुभयो । नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाउनुभयो । नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताउनुभयो । “सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सीलगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो । अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँँ ।” उहाँले भन्नुभयो ।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउँदै आउनुभएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताउनुभयो । उहाँले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

२०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७,००० भन्दा बढीलाई आश्रय दिएको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष अधिकारीले बताउनुभयो ।

मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खानासमेत वितरण गर्नुभयो । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भन्दै नबिल बैंकले अति आवश्यक क्षेत्रमा सधै हातेमालो गर्ने गरेको छ ।