काठमाडौं, ९ असार । प्रचण्डले भावी अध्यक्षमा बाबुराम भट्टराईको नाम प्रस्ताव गरेसँगै साम्य देखिएको एमाओवादी भित्रको विवाद फेरि बल्झन थालेको छ ।
आइतबार लाजिम्पाटमा बसेको बैठकमै प्रचण्ड र बाबुरामका कुरा बाझिएपछि पदाधिकारीबीच पनि विवाद देखापरेको हो ।
लाजिम्पाट निकटि स्रोतले दिएको जानकारी अनुसार चार दिनपछि बस्ने संसद अधिवेशन छलेर आफूहरुलाई बाइपास गर्ने गरी पुनर्निर्माण गठनसम्बन्धी अध्यादेश ल्याउन लागिएकोमा त्यसको कडा प्रतिकार गर्नुपर्ने प्रस्ताव बाबुराराम भट्टराईले राख्दा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको धर्म निभाउन मात्रै सामान्य विरोध गर्ने पुग्ने निर्णय सुनाए ।
प्रचण्डको निर्णयप्रति अन्य पदाधिकारीले समर्थन जनाए पनि बरिष्ठ नेता भट्टराई र सचिव टोपबहादुर रायमाझी सहमत हुन नसकेको समाचार जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
बैठकमा बाबरामले अध्यादेशको मस्यौदा नै ड्राफ्ट गरेर सरकारलाई बुझाएको बारे कुरा उठेको थियो ।
बाबुरामले पार्टीकै मान्यता बमोजिम आफूले संसदप्रति जवाफदेही हुने गरी प्रधानमन्त्री मातहत अधिकारसम्पन्न स्वयत्त प्राधिकरणका लागि विस्तृत अवधारणा र कार्ययोजनासमेत राखेर प्रस्ताव बुझाए पनि सरकारले त्यसलाई बाइपास गरेको प्रष्ट्याए ।
पार्टीमा छलफल नै नगरी व्यक्तिगत तवरमा सरकारलाई बुझाएको मस्यौदाबारे भने त्यहाँ कसैले आपत्ति जनाएन । सो बैठकमा एमालेको भूमिकाप्रति गुनासो गरिएको थियो ।
एमालेले बिहान एउटा निर्णय र बेलुका अर्को निर्णय गरेको भन्दै असन्तुष्टी व्यक्त भएको थियो ।
प्रचण्डले ओली, माधव नेपाल र विष्णु पौडेलको भूमिका सकारात्मक भए पनि वामदेव गौतम कांग्रेससँग टास्सिन पुगेको बताएका थिए ।
लाजिम्पाट बैठकको भोलिपल्ट सानेपामा बाबुराम पक्षको छुट्टै बैठक बसेको थियो ।
बैठकमा प्रचण्ड पक्षले पेल्न थालेको भन्दै दलबाहिर, विज्ञ र पत्रकासँग छलफल थाल्ने घोषाणा बैठकले गरेको थियो ।















प्रतिक्रिया