२४ असार २०८३, बुधबार

देश अप्ठ्यारोमा परेको बेला एमाले-कांग्रेस एकठाउँमा उभिएको छ : योगश भट्टराई

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभा सदस्य योगश भट्टराईले कांग्रेस-एमालेका नेताहरूबीच नयाँ सत्ता समीकरणको विषयमा भएको सहभागितालाई एमाले संसदीय दलको बैठकले अनुमोदन गरेको जानकारी दिनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले मुलुकमा कतिपय अवस्थामा आउने यस्ता असामान्य क्षणलाई कतिपयले असामान्य गठबन्धनको रूपमा त कतिपय परिस्थितिको उपजको रूपमा व्याख्या गर्ने गरेको बताउनुभयो । ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख राजनीतिक दलबीच सत्ता साझेदारी गर्नु राम्रो होइन, यो पटक पटक गरिने विषय पनि होइन, देश संकटमा पर्न लागेको बेला हामीले यस्ता ऐतिहासिक निर्णय गर्दै आएका छौँ ।’ उहाँले भन्नुभयो ।

उहाँले एमाले र नेपाली कांग्रेसबीच २०४६ सालमा ऐतिहासिक सहमति नभएको भए बहुदलीय व्यवस्था प्राप्त हुन अझै ढिलो हुन सक्ने स्मरण गराउनुभयो । २०४७ को संविधान कांग्रेस र एमाले मिलेर बनाएको पनि नबिर्सन उहाँले आग्रह गर्नुभयो । माओवादीको सशस्त्र द्वन्द्वको कारण देश उकुसमुकुस भएको अवस्थामा देशमा शान्ति स्थापना गर्न पनि एमाले र कांग्रेस एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । त्यसैको जगमा संविधान सभाबाट संविधान लेखिएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘एतिहासिक कालखण्डमा हामी दुईवटा पार्टी सहमतिका साथ अघि बढेका छौँ ।’ उहाँले भन्नुभयो ।

२०७९ को निर्वाचन पछि एमाले प्रतिपक्षमा बस्नुपर्छ भन्ने मनस्थितिमा रहेको भए पनि एमालेविरुद्ध बनेको गठबन्धनले काम गर्न नसकेपछि एमालले प्रचण्डलाई समर्थन गरेको उहाँले बताउनुभयो । त्यो सहकार्यलाई एमालेले लामो समयसम्म लैजान चाहेको भए पनि प्रचण्ड एकाएक सहमति तोडेर कांग्रेससँग मिल्न जाँदा एमाले प्रतिपक्षमा पुगेको उहाँले स्मरण गराउनुभयो । त्यो सरकार पनि अघि जाओस् भनेर एमाले आन्तरिक काममा लागेको बेला फेरी प्रचण्डले साथ माग्नु भएको र आफूहरूले साथ दिएको उहाँले स्मरण गराउनुभयो । यसलाई एमालेले २०८४ सम्म लैजान चाहेको भए पनि प्रधानमन्त्रीकै कारण अहिलेको स्थिति आएको उहाँले बताउनुभयो ।

एउटासँग सहमति गर्ने र अर्को समीकरण बनाउन लागि हाल्ने प्रचण्डको स्वभावको कारण अहिलेको परिस्थिति सिर्जना भएको भट्टराईले टिप्पणी गर्नुभयो । ‘एमालेसँग समीकरण छ, कांग्रेससँग समीकरण बनाउन खोज्नु हुन्छ, कांग्रेससँग समीकरण छ, एमालेसँग समीकरण गर्न खोज्नु हुन्छ ।’ उहाँले भन्नुभयो । यस्तो कार्यले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास गुम्दै गएको भट्टराईले बताउनुभयो । यसले राज्यका निकायले समेत ठिक ढङ्गले काम गर्न नसकेको र जनतामा चरम निराशा बढेको उहाँले टिप्पणी गर्नुभयो ।

‘एक किसिमले भन्ने हो भने फेरि पनि देश सङ्कटग्रस्त अवस्थामा छ ।’ भट्टराईले भन्नुभयो । कार्यान्वयनको क्रममा देश संविधानको पनि सिंहावलोकन गर्ने बेलामा आइपुगेको भट्टराईले बताउनुभयो । संविधानका कतिपय विषयमा पुनरावलोकन गर्ने स्थिति आएको उहाँले स्पष्ट पार्नुभयो । देशमा सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल गरी समय अनुसार संविधान परिमार्जन गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो । यो परिस्थितिमा फेरि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनु पर्ने स्थिति आएको उहाँले बताउनुभयो ।

एमालले अहिलेको समीकरण जोगाउन हदैसम्म लचक भएको बताउँदै भट्टराईले प्रचण्डले त्यसलाई कमजोरीको रूपमा लिनुभएको बताउनुभयो । प्रधानमन्त्रीको जादुमय अङ्कले एमालेप्रति नै अविश्वास गर्न थालेपछि एमाले बाध्य भएर कांग्रेससँगको समीकरणमा पुगेको उहाँले स्पष्ट पार्नुभयो । अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकारकै भए पनि त्यसको नेतृत्व प्रचण्डले गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । तर प्रचण्ड कांग्रेस र एमालेलाई रोटे पिङ घुमाए जस्तै गरी घुमाउने र आफ्नो सत्ता लम्याउने षडयन्त्र गरेको भट्टराईले बताउनुभयो । मुलुकको आत्मविश्वास बढाउन र देशलाई लयमा फर्काउनको लागि कांग्रेस-एमाले एक ठाउँमा उभिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाइसकेको बताउँदै उहाँले संसदबाट राजीनामा घोषणा गर्न आग्रह गर्नुभयो । उहाँले कांग्रेस-एमालेले सुरु गरेको राष्ट्रिय सहमतिको सरकार बनाउने अभियानमा साथ दिन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।