काठमाडौं, २४ जेठ । नेकपा एमाले केन्द्रीय अनुसन्धान आयोगले नवौँ महाविधेशन नजिकिँदै गर्दा भएका छुट्टछुट्टै समूहगत भेला र बैठक गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौंमा आज बसेको आयोगको सचिवालय बैठकले भेला र बैठकमा भएका आरोप तथा प्रत्यारोपका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘महाधिवेशनमा फरकफरक विचार समूहको नाममा छुट्टाछुट्टै समूहगत बैठक र भेला भएको, फरकफरक सम्पर्क कार्यालय स्थापना गरेका तथा विभिन्न तहमा आ–आफ्नै रुचि समूहको भेला गरी एकअर्काप्रति असहिष्णु आरोपप्रत्यारोप गरेका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका अध्यक्ष अमृतकुमार बोहराद्वारा जारी विज्ञतिमा जनाइएको छ ।
बहसको नाममा छुट्टाछुट्टै समूहको बैठक, भेला आयोजना गर्ने, पार्टीको सामान्य मर्यादा र अनुशासनलाई ख्याल नगरी एक अर्कालाई खुइल्याउने कार्य गरेको आयोगको बुझाइ छ । ‘एकअर्काप्रति असंहिष्णु आरोपप्रत्यारोप गर्ने जस्ता गैरकम्युनिष्ट आचरण तथा शैलीले पार्टीको किमार्थ हित हुन सक्दैन,’ आयोगले उल्लेख गरेख गरेको छ ।
‘पार्टीको केन्द्रीय कमिटीदेखि लिएर सम्पूर्ण कमिटीको विशेष ध्यानाकर्षण गर्दछ’ बोहराले भनेका छन्, ‘महाधिवेशनका दस्तावेजलाई पद्धतिसम्मत व्यवस्थितरुपमा बहस छलफल गराउन विगतमा जस्तै पार्टीको विभिन्न तहमा आवश्यकताअनुसार ‘वैधानिक मञ्च’को आयोजना गरी एउटै मञ्चमा सबै नेतालाई सहभागी गराउन आग्रह गरिएको छ ।’
बैठकले महाधिवेशनलाई बढी अनुशासित, मर्यादित र व्यवस्थितरुपमा सञ्चालन र सम्पन्न गर्न एक ठोस तथा व्यावहारिक आचारसहिंता बनाइ पार्टीलाई आफ्नो क्रान्तिकारी लक्ष्यअनुरुप अगाडि बढाउन आग्रह गरेको छ ।















प्रतिक्रिया