सुशील खड्का
सुर्खेत, जेठ २४ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले माधवकुमार नेपाललाई पार्टीको अध्यक्षमा दाबी गर्ने अधिकार नभएको बताएका छन् ।
युवा संघ नेपाल, सुर्खेतको जिल्ला अधिबेशनको उद्घाटन गर्न सुर्खेत आएका बस्नेतले शनिवार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै केही नेताले उचालेर नेपाल अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको दाबी गरे । अध्यक्ष बस्नेतले ओलीलाई नै नेपालले अध्यक्षमा प्रस्ताव गर्नुपर्ने सुझाव दिए । ‘नेपालले अध्यक्षमा दाबी गर्ने अधिकार छैन,’ उनले भने– ‘केपी ओलीका आजीवन विरोधीहरुले उचालेर अध्यक्षको उम्मेदवारका रुपमा उहाँ प्रस्तुत हुनुभएको छ, नेपालले केपी ओलीलाई नै प्रस्ताव गर्नुपर्छ ।’’
पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले वर्तमान अवस्थामा एमालेले नेपाली काँग्रेससँग नै सहकार्य गरी अगाडि बढ्ने बताए । अहिले एमालेले काँग्रेससँग सहकार्य र काँग्रेससँगै प्रतिष्पर्धा गरेर अगाडि बढ्नु पर्ने अवस्था आएको बस्नेतको भनाइ छ । साथै अब सरकारले युवाहरुलाई लडाईमा मात्रै प्रतिष्पर्धा नगराई विकास निर्माणका कार्यमा प्रतिस्पर्धा गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बस्नेतले बताए ।
खेलकुदका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै बस्नतेले खेलकुद विश्वविद्यालयको स्थापना गर्न माग समेत गरे । त्यस्तै सबैको प्रतिस्पर्धा गर्ने ठाउँ भएको तर युवाहरुको प्रतिस्पर्धा गर्ने ठाउँ नभएको भन्दै अध्यक्ष बस्नेतले निर्वाचित युवा परिषद् बनाउन सरकारसँग माग समेत गरेका छन् ।
















प्रतिक्रिया