२ कार्तिक २०८३, सोमबार

नेकपा एसको प्रतिनिधि छनोटमा मनोमानी, किसान श्रेष्ठले गोजीबाट चिट निकालेपछि बहिष्कार

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनोट मनोमानी भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनोट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।

बाराको परवानीपुर-५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रियाअन्तर्गत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदिई मनोमानी रुपमा प्रतिनिधि छनोट गरिएको छ ।

बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनोटका लागि संयोजक तोकिनुभएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एक चिट निकालेर बाचन गर्न थालेपछि सहभागि नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर उहाँले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिँड्नुभएको थियो ।

बारा ४ मा एकीकृत समाजवादीका २ हजार ११ संगठित सदस्य छन् । तर प्रतिनिधि छनोटका लागि भएको भेलामा ५० देखि ६० जनामा मात्रै सहभागि भएका थिए । भेलामा सहभागि एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरित मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनोट कार्यको विरोध भएको बताउनुभयो ।

‘दुई हजार भन्दा बढी संगठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागी थिए । प्रतिनिधि छनोट प्रक्रिया अनुसार मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन’ साहले भन्नुभयो, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो संगठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’

भेलामा सहभागि अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउन खोजिनु पार्टी हितविपरितको काम भएको बताउनुभयो । प्रतिनिधि छनोट अघि क्षेत्रिय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउनुपर्ने ती सबै प्रक्रिया मिचिएको यादवले जनाउनुभएको छ ।

‘यस्तो पाराले पार्टीको हित हुदैन् । कुनै व्यक्तिका लागि पार्टीको विधान, नीति, प्रक्रिया नै मिच्ने काम गर्नु गलत हो । सिमित व्यक्तिको स्वार्थका लागि पार्टीका हजारौ सदस्यहरुको अधिकार खोस्नु राम्रो होइन् ।’ यादवले भन्नुभयो, ‘पार्टीले तोकेको संयोजकले नै आफूखुशी गर्न थालेपछि पार्टीले न्याय गर्नुपर्छ ।’

एकीकृत समाजवादी बाराको फेटा गाउँपालिका सचिवसमेत रहनुभएका अमिरका साहले भेलामा सहभागि नै नभएको व्यक्ति प्रतिनिधि हुनुले मनोमानी गर्न खोजिएको स्पष्ट भएको बताउनुभयो । पार्टीहित विपरित काम गर्ने व्यक्तिलाई केही नेताले च्याप्न खोज्दा पार्टीको हित नहुने उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहलेसमेत मनोमानी नगर्न सुझाव दिँदै बैठकमै विरोध गर्दै गर्नुभएको थियो । तर सहभागिहरुको कुरा नसुनेर जबरजस्ती गरिएपछि उहाँले यस बारेमा पार्टीमा उजुरीसमेत गर्नुएको छ । प्रक्रिया विपरित मनोमानी प्रतिनिधि छनोट गरेपछि पार्टीमा निवेदन दिँदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने मागसमेत गर्नुभएको छ ।

बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनोट गरिएपछि प्रक्रिया पुर्‍याएर प्रतिनिधि छनोट गर्न माग गर्दै उजुरीसमेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १०औं केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट देशैभरी भइरहेको छ ।

प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५-५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् । प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ ।

जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १०औं केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागि हुनेछन् ।