३० आश्विन २०८३, शुक्रबार

… जब सावित्री श्रेष्ठका सामु भाइका हत्या अभियुक्तले माफी मागे

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabitri-shrestha

– विश्वास खड्काथोकी

काठमाडौँ, ७ असार । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सावित्री श्रेष्ठ तीनपटक पुगिसकिन्, त्यो ठाउँमा । जुन ठाउँमा उनको भाई उज्जनकुमार श्रेष्ठको तत्कालिन माओवादीले निर्ममतापूर्वक हत्या गरेको थियो ।

पहिलो र दोस्रो पटक, भूकम्प पीडितका लागि त्रिपाल र खाद्यान्न लिएर पुगिन्, तेस्रो पटक जस्तापाता । तेस्रोपटक पुग्दाको त्यो दिन अलि पृथक थियो । ठीक अठार वर्ष पहिलेको त्यही दिन उनको भाईलाई गोली हानिएको थियो । राहत बोकेर ओखलढुंगा पुगेकी सावित्री आहात बोकेर फर्किइन् ।

राहत वितरण गर्नुपूर्व सावित्री आफ्नो भाईको हत्या भएको ठाउँसम्म पुग्न आतुर थिइन् । बिहानको त्यस्तै १० बजेको हुँदो हो । उनी त्यतैतिर लागिन् । गाउँलेको ठूलै हुलले उनलाई पछ्यायो ।

Sabitri-shrestha1

जतिजति त्यो ठाउँ नजिकिँदै थियो । उनको अनुहारमा त्यतित्यति पीडाका छिर्काहरु देखिन्थे । आकाशमा चर्को घामको ताप थियो । तर, उनको अनुहारमा कालो बादलजस्तोे धब्बा छाउँदै थियो ।

सावित्रीले ढुंगा खोज्न थालिन् । एक छिन् भेटाइनिन् । आत्तिएजस्तो गरिन् । अर्का एक जनाले औँला तेर्साए । कुलो माथि मकैबारीको छेउँमा रहेछ । त्यही ढुंगाबाट उज्जनलाई गोली हानिएको थियो । सावित्रीलाई त्यो ढुंगाको पनि कति माया ! सायद भाइको प्राणजस्तै लाग्दो हो ।

Sabitri-shrestha3

उनले एक्कासी भाइको नाम लिइन् । थचक्क बसिन् । र, खुट्टालाई कुलोमुनि पुर्‍याइन् । रोकिइनन्, हिँडिरहिन्, सबै उनका पछिपछि लागे । उनका आँशु थामिएनन् । अनि सवित्रीले भक्कानिँदै भनिन्, ‘यहाँसम्म त मेरो भाई जिउँदै थियो ।’

सावित्री ओखलढुंगा खहरेकै अर्को ठूलो ढुंगासम्म पुगिन् । जहाँ, उनको भाइले देह त्याग गरेका थिए । छेउमा थियो लिखु नदी । उनको रुवाइसामु नदीको आवाज फिक्का थियो । उनका बलिन्दरा आँशु थामिएनन् । आँशु झार्दै ढुंगालाई समाइन्, मुसारिन । जसरी बच्चालाई आमाले तेल लगाउँछिन् । वरिपरि गउँलेहरु झुम्मिएका थिए । लाग्थ्यो, त्यहाँ कुनै मेला लाग्दैछ ।

सावित्रीको रुवाइले गाउँलेको आँखा पनि चिसो बनायो । कसैको अनुहारमा चैन थिएन ।

लिखु नदी नजिकै उज्जनको तोरी पेल्ने मिल थियो । सबेरै उज्जन नदी तरेर वारी आएका थिए । उनको पाइलो कुलोसँगैको वाटा अगाडि बढ्दै थियो । माओवादीले उनलाई घेरबन्दी गरे । गोलीको आवाजले सिरिसे गाउँनै थर्कियो । उज्जन छटपटाउँदै नदीसम्म फाल हाले । माओवादीले किन छोड्थे । त्यहीँ पुगे र उज्जनको बँचेखुचेको श्वास हराम गरिदिए ।

उज्जनको धर्मपत्नी पनि सावित्रीसँगै थिइन् । उनले भुइँमा टपरी राखिन् । अगरपत्ती जलाइन । टपरीमा फुल र फलफुल थिए । सावित्रीले एउटा हातले आँशु पुछिन्, अर्को हातले ढुंगामाथि दुध खन्याइन् । भाइकै मायामा फलफुल राखिन् र फुल छरिन् ।

Sabitri-shrestha8

सावित्री र उज्जनले एक अर्कालाई निकै माया गर्थे । सावित्रीका भाई सुरेशले प्रशंगबश कुरा खोले, ‘सावित्री दिदी र उज्जन दाई बालककालदेखिनै सँगै हुर्कनुभएको हो । उहाँहरुको उमेरमा एक वर्षको मात्र अन्तर थियो । एउटै कक्षामा पढ्नु भयो । पछि दिदीको व्यवसायी गणेश लामासँग प्रेम विवाह भयो । हामीले सिडियोसँग विवाह गरिदिने तरखर गरिरहेका थियौँ । अन्तरजातिय विवाहलाई परिवारले स्वीकार गर्ने कुरा भएन । तीन वर्षसम्म दाइ एक्लैले माइतीको भूमिका निर्वाह गर्नुभएको थियो ।’

सावित्री लामो समयदेखि भाईको हत्यारालाई कारबाहीको दायरामा उभ्याउनको लागि लडिरहेकी छिन् । तर, उनले अझैसम्म न्याय पाउन सकेकी छैनन् ।

हत्याराले माफी मागे

सावित्रीका भाई सुरेशकुमार श्रेष्ठ पनि दिदीसँगै पुगेका थिए ओखलढुंगा । सुरेशसामु हत्याका आरोपी थलबहादुर पौडेलले भने, ‘त्यतिवेला परिबन्धमा परियो अहिले त माफी दिनुहुन्छ होला नि ।’ उज्जनको हत्यामा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेलसँगै थलबहादुरको पनि संलग्नता रहेको थियो । थलबहादुरले थपे, ‘खै त हाम्लाई जस्ता । हामी त क्लस मेट हौँ नि । बिर्सियो कि कसो ।’ थलबहादुरको बहिनीसँगै अन्तरजातीय बिहे गरेकै कारण उज्जन मारिएका थिए । माओवादीलाई प्रयोग गरेर उज्जनलाई मारेकै अभियोगमा थलबहादर पनि दुईबर्षसम्म थुनिएका थिए ।

Sabitri-shrestha5

भूकम्प पीडितलाई ४१ बण्डल जस्ता वितरण

उज्जनको नाममा सावित्री श्रेष्ठले गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान नामक संस्थाको स्थापना गरेकी छिन् । उज्जनको १८ औँ वार्षिक स्मृतिमा उक्त संस्थामार्फत उनी भूकम्पपीडितको लागि जस्ता लिएर ओखलढुंगा पुगेकी हुन् । उनले आखलढुंगास्थित पोकली १ र २ का ४१ घर परिवारलाई एक एक बण्डलका दरले जस्ता वितरण गरिन् । रोयल माउण्टेन ट्रेकिङ, नेपालको सहयोगमा जस्ता वितरण गरिएको हो ।

Sabitri-shrestha4

अधिकांश दलित समुदायका घर परिवारलाई जस्ता वितरण गरिएको थियो । भूकम्पले उनीहरुको घर बस्न नहुने गरी क्षत बिच्छेद पारिदिएको छ । भूकम्पपछि उनीहरु त्रिपालमा बस्दै आएका छन् । उनीहरुले भने, ‘गाउँमाथिको डाँडा पुरै चर्किएको छ । हाम्रो बस्तीनै खतरामा छ । कसैले केही गर्दिए त हुन्थ्यो नि !’ जस्ता पाएपछि उनीहरु निकै खुशी देखिएका थिए ।

Sabitri-shrestha9

सोही कार्यक्रममा शहिद उज्जन(भुवन) श्रेष्ठको फोटोमा माल्याअर्पण गरिएको थियो । भाइका हत्यारालाई राजनीतिक उन्मुक्ति दिइरहँदा सावित्री भने भाइको आत्मशान्तिका लागि सामाजिक कार्यक्रम संचालन गरिरहेकी छिन् । (ओखलढुंगाबाट फर्केर)