कञ्चनपुर, ६ असार । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडकमा गरिएको कालोपत्र दुई वर्ष नपुग्दै बिग्रिएको छ ।
रु एक करोडको लागतमा दुई हजार चार सय मिटर सडक कलुवापुरदेखि कालिका सामुदायिक वनसम्मको कालोपत्र गरिएको थियो । सडकका बीचबीचमा कालोपत्र उप्किएर बिग्रिएको हो ।
स्थानीय बासिन्दाका अनुसार सडकको कालोपत्र गरिएको ठाउँठाउँमा उप्किएर खाल्टाखुल्टी परेका छन् । कमसल निर्माण सामग्रीको प्रयोगले सडक बिग्रिएको स्थानीय कमल भाटले बताउनुभयो ।
शनिदेव र मित्र निर्माण सेवा प्रालिले संयुक्त रुपमा सडक कालोपत्र गर्ने कार्य गरेको थियो ।
सडकमा कालोपत्र गर्नका लागि प्रिमिक्स प्रविधि अपनाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यस्तो प्रविधिबाट कालोपत्र गरिएको सडकले दश टन भार क्षमतामात्रै धान्न सक्ने भएकाले सडकमा ठूला ढुवानीका साधन सञ्चालन हुँदा सडकको केही ठाउँ भासिएको कार्यालयका इन्जिनियर दिलानन्द गिरीले बताउनुभयो ।
यो सडक निर्माण भएको ३६ वर्षपछि कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको सडकको चौडाइ पाँच मिटर र मोटाइ दुई इन्च रहेको छ ।
जिल्लाको पुरानो सदरमुकाम बेलौरीसम्म यातायातको पहुँच पु¥याउनका लागि २०३५ सालमा कलुवापुर–बेलौरीसम्मको २८ किलोमिटर सडक निर्माण गरिएको थियो ।
बेलौरीबाट जिल्ला सदरमुकामलाई महेन्द्रनगर सारिएपछि सडक कालोपत्र हुन सकेको थिएन । सडक कालोपत्र नहुँदा वर्षायाममा यहाँका बासिन्दाको जिल्ला सदरमुकामसँग सम्पर्क विच्छेद हुने गरेको छ । रासस















प्रतिक्रिया